तपाईँ सुन्दै हुनुहुन्छः

पालिका स्तरीय भलिबल प्रतियोगिता शुरु

स्याङ्जा । स्याङ्जाको वालिङमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।

स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिको आयोजनामा वालिङ खेलमैदानमा स्याङ्जा आइसिसी प्रथम भलिबल कप २०८१ को शुक्रबार उद्घाटन गरिएको हो ।

प्रतियोगिताको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थ तथा विकास समितिका सभापति भोजराज अर्यालले यस्ता प्रतियोगिताहरूले खेल प्रतिभा प्रस्फुटन गराउनका लागी सहयोग पुग्ने बताउँदै प्रतियोगिताको सफलताको कामना व्यक्त गर्नुभयो ।

उद्घाटन कार्यक्रममा प्रदेश सांसद कल्पना तिवारी, पूर्व सांसद मोहनप्रसाद रेग्मी, पुतली बजार नगरपालिका प्रमुख तुलसीराम रेग्मी, कालीगण्डकी गाउँपालिका अध्यक्ष खिमबहादुर थापा लगायतले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम स्याङ्जा सहयोग समाज अन्तर्राष्ट्रिय समन्वय समितिका अध्यक्ष वीरेन्द्रजंग केसीको सभापतित्वमा सम्पन्न भएको थियो भने खेम काफ्लेले गर्नुभएको थियो भने स्वागत वरिष्ठ उपाध्यक्ष खगेन्द्र गैह्रेले गर्नुभएको थियो । शुक्रबार उद्घाटन खेलमा ३ खेलहरू सम्पन्न भएका छन् ।

वालिङ नगरपालिका र पुतलीबजार नगरपालिकाबिच भएको खेलमा पुतलीबजार नगरपालिकाले जितेको छ भने बिरुवा र अर्जुनचौपारी गाउँपालिकाबिच भएको खेलमा बिरुवा गाउँपालिकाले जित हाँसिल गरेको छ । त्यस्तै तेस्रो खेल चापाकोट नगरपालिका र हरिनास गाउँपालिका बीच भएको थियो ।

खेलमा प्रतियोगितामा जिल्लाका एघार वटै पालिकाको सहभागिता रहेको छ । सम्बन्धित पालिकाको सिफारिसमा आएका खेलाडीहरूलाई प्रतियोगितामा समावेश गरिएको हो ।

प्रतियोगितामा प्रथम हुने पालिकाले रु. एक लाख ५० हजार, द्वितीय हुने पालिकाले रु. एक लाख, तृतीय हुने पालिकाले रु. ७५ हजार र सान्त्वना हुने पालिकाले रु. २५ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने भलिबल खेल संयोजक हिमलाल डुम्रेले बताउनुभयो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई जनही १० हजार नगदसहित मेडल र प्रमाणपत्र तथा उत्कृष्ट सेटर, डिफेन्डर, सर्भिस, ब्लकर, स्पाईकरलाई जनही ५/५ हजार पुरस्कार दिने प्रतियोगिताको सहयोगी संस्था वालिङ भलिबल क्लबका अध्यक्ष दीपेन्द्र खाँणले बताउनुभयो । प्रतियोगितामा अनुमानित आम्दानी कूल १५ लाख ८५ हजार रहेको छ भने सोही बराबर खर्च हुने दाबी आयोजकले गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button