तपाईँ सुन्दै हुनुहुन्छः

६२ वर्षपछि मन्दिरको जीर्णोद्धार गरिँदै

चितवन । भरतपुरमा ६२ वर्षपछि एक मन्दिरको जीर्णोद्धार गरिने भएको छ । भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित शिवघाटमा २०१९ सालमा स्थापना भएको राधाकृष्ण मन्दिरको पुर्ननिर्माण गरिने भएको हो । यसको लागि यही कात्तिक ४ गतेदेखि श्री राधाकृष्ण मन्दिरको तदर्थ समितिको आयोजनामा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ  सञ्चालन गरिने आज भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो  । 

पत्रकार सम्मेलनमा समितिका संयोजक नमराज फूयांँलले धर्मको संरक्षण र आध्यात्मिक चेतनाको विकास गर्ने उद्देश्य सहित मन्दिरको पुर्ननिर्माण गर्न लागिएको बताउनु भयो । ‘यतिका वर्षसम्म कसैले पनि मन्दिरको जीर्णोद्धार गर्ने प्रयास गर्नुभएन फूयांँलले भन्नुभयो, हाल अहिले हामीले सबै कानुनी प्रक्रिया पुरा गरेर यसको पुनर्निर्माणको थालनी गर्न लागेका हौँ ।’ 

यसका लागि महायज्ञमा आउने दाताबाट जिन्सी तथा रकम सङ्कलन गरिने फुयाँलले बताउनु भयो । मन्दिर पुनर्निर्माणको लागि साँढे २ करोड खर्च हुने अनुमान गरिएको छ । ‘मन्दिर निर्माणपछि यसको नाममा रहेको करिब साँढे ८ कठ्ठा जग्गा पनि संरक्षण हुन्छ उहाँले भन्नुभयो, नारायणी नदीको नजिकै रहेको यो मन्दिर धार्मिक पर्यटन प्रवर्द्धनमा पनि टेवा पुग्नेछ ।’ 

सो क्रममा बोल्दै श्री राधाकृष्ण मन्दिर प्रतीक वृन्दावन गैँडाकोटका पीठाधीश श्री हरिशरण उपाध्यायले मन्दिर निर्माण सँगै यस क्षेत्रका नागरिकको सांस्कृतिक, सामाजिक एवं आध्यात्मिक चेतनामा समेत वृद्धि हुने बताउनु भयो । राधाकृष्ण मन्दिरको पुर्ननिर्माणले आम हिन्दु धर्मावलम्बीको आस्था र विश्वासमा थप ऊर्जा थपिने उहाँको भनाई थियो । महायज्ञमा वृन्दावनका परमतपवस्वी सन्तश्री भागवत महाराज ले प्रमुख वाचन तथा श्री अक्लेश केशवशरण अर्यालय सहवाचन गर्नु हुनेछ । 

यस्तै वृन्दावनका श्री भगवच्छरण देवजी लगायतका धर्मगुरु लगायतका अन्य जिल्लाका धर्माबलम्बीहरुलाई पनि निमन्त्रणा गरिएको आयोजकले जनाएको छ । हाल मन्दिरको डिपिआर समेत सम्पन्न भएको छ । 

मन्दिरको ऐतिहासिक मूर्ति चोरी भएपछि काष्ठमूर्ति स्थापना गरेर स्थानीय पुजारीबाट  दैनिक पूजा अर्चना गर्दै आइएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button