तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय सभामा बहुमत पुग्ने बित्तिकै संविधान संशोधन प्रक्रिया अघि बढ्छ : महासचिव पोखरेल

नेपालगन्ज । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कांग्रेस/एमाले सरकार संविधान संशोधन गर्ने निश्चित उद्देश्यका साथ निर्माण भएको बताउनुभएको छ ।  

नेकपा एमाले नेपालगन्ज नगर कमिटीद्वारा आज नेपालगन्जमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिले राष्ट्रिय सभामा बहुमत नभएका कारण तत्काल संविधान संशोधन प्रक्रिया अघि नबढाउने स्पष्ट पार्दै एक/डेढ वर्षमा बहुमत पुगेपछि संविधान संशोधनमा जाने बताउनुभयो । उहाँले वर्तमान सरकार उच्च समझदारीमा निश्चित उद्देश्य लिएर बनेकोले कसैले चाहँदैमा नढल्ने स्पष्ट पार्नुभयो । सरकार ढल्छ भनी हल्ला फिँजाउनेहरू विकास र स्थिरता विरोधी भएको उहाँको टिप्पणी छ । आगामी चुनावसम्म यो सरकार कायमै रहने दाबी गर्दै पोखरेलले चुनावी सरकारको नेतृत्व काँग्रेसले गर्ने स्पष्ट पार्नुभयो । आगामी चुनावमा कांग्रेस र एमालेले कसैसँग तालमेल नगर्ने उहाँको दाबी छ ।

महासचिव पोखरेलले एमाले मिसन २०८४ को मूलमन्त्रका साथ अघि बढेको बताउनुभयो । उहाँले राजनीतिक अस्थिरताको अन्त्यका लागि २०८४ को निर्वाचनमा एमालेको एकल बहुमतको सरकार आवश्यक रहेको बताउनुभयो । त्यसै अनुरुप पार्टीका गतिविधिलाई तल्लो तहसम्म सञ्चालन गर्न उहाँले नेता कार्यकर्तालाई निर्देशन दिनुभयो । जनताका काम, गुनासा र समस्यामा ध्यान दिन पोखरेलको जोड छ । 

व्यवसायी मीन बहादुर गुरुङले दान गर्नुभएको जग्गाको विषयलाई अतिरञ्जित गर्न खोजिएको भन्दै उहाँले पार्टी शुभेच्छुकले  स्वेच्छिकरुपमा दिएको कुरालाई अनावश्यक टीकाटिप्पणी गर्न जरुरी नभएको स्पष्ट पार्नुभयो । 

भेलालाई एमाले केन्द्रीय सदस्य एवम् बाँके जिल्ला इन्चार्ज शान्ति ढकाल र जिल्ला अध्यक्ष निरक गुरुङले पनि सम्बोधन गर्नुभएको थियो । नेकपा एमाले नेपालगन्ज नगर कमिटी अध्यक्ष मोहित शाहको अध्यक्षतामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको हो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button