तपाईँ सुन्दै हुनुहुन्छः

गैरआवासीय नेपालीको साबिकको नागरिकता त्यागको विवरण माग

काठमाडौँ । निर्वाचन आयोगले स्थानीय तह उपनिर्वाचनको मतदाता नामावली अद्यावधिक गर्नका लागि गैरआवासीय नेपाली नागरिकता लिएका व्यक्तिको साबिकको नागरिकता त्यागको विवरण माग गर्ने निर्णय गरेको छ ।

आयोगको आज बसेको बैठकले स्थानीय तह उपनिर्वाचन, २०८१ को मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनको लागि गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्ने व्यक्तिको सो नागरिकता प्राप्त गर्नु पूर्वको साबिकको नेपाली नागरिकता त्याग गरिएको विवरण गृह मन्त्रालय मार्फत माग गर्ने निर्णय गरेको आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

मतदाता नामावली अद्यावधिक गर्ने प्रयोजनका लागि मतदाता नामावली ऐन, बमोजिम नागरिकता त्याग गरेको विवरण जिल्ला प्रशासन कार्यालयले उपलब्ध गराउनुपर्ने व्यवस्था रहेको प्रवक्ता सापकोटाले बताउनुभयो ।

नागरिकता ऐनमा गैरआवासीय नेपाली नागरिकता लिन चाहने व्यक्तिले साबिकमा नेपालको नागरिकता लिएको भए सो नागरिकता त्याग गरेको प्रमाण पेश गर्नुपर्ने व्यवस्था छ ।

आयोगले नागरिकता ऐनमा भएको व्यवस्था अनुसार गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्नु पूर्वको नेपाली नागरिकता त्यागको विवरण सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई यही कात्तिक ५ गते भित्र सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालयबाट प्राप्त विवरणका आधारमा मतदाता नामावलीमा रहेको विवरणसँग भिडाई त्यस्तो नागरिकता त्याग गर्ने मतदाताको नाम मतदाता नामावलीबाट हटाइ मतदाता नामावली अद्यावधिक गरिने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button