तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा  ५० प्रतिशत होटल अकुपेन्सी

पोखरा । पर्यटनको राजधानी पोखरामा हाल होटलहरुको अकुपेन्सी करिब ५० प्रतिशत रहेको छ । नेपालीहरूको महान् पर्व विजया दशमी टिकाको दिन पछि केही दिन ७० प्रतिशतसम्म होटल अकुपेन्सि पुगेको पोखरामा हाल ५० प्रतिशतमा झरेको होटल संघ पोखरा नेपालले जनाएको छ । 

कोजाग्रतपूर्णिमा पर्वको अवसरमा गण्डकी प्रदेश सरकारले सार्वजनिक बिदा दिएकोले आउँदो शनिबारसम्म पोखरामा आन्तरिक पर्यटकहरूको उत्साहजनक सहभागिता हुने आफूहरूले अपेक्षा गरेको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले बताउनु भयो । 

पोखरामा हाल पोखरा आसपास देखि देशका विभिन्न शहर हुँदै भारतीय पर्यटकहरूको समेत आगमन भएको उहाँले जनाउनु भयो । तेस्रो मुलुकका पर्यटक भने केही कम भएको तथा केही ट्रेकिङ तर्फ गएका पाहुना समेत पोखरा फर्किएको सङ्घले जनाएको छ । 

सङ्घले दशैं अघि नै वडा दशैं तथा शुभदिपावलीको अवसरमा पोखरामा आउने पर्यटकहरूलाई होटल आवासमा ३० प्रतिशत छुट दिने घोषणा गरेको थियो । होटल संघ पोखरा नेपालले आफ्ना सदस्य अन्तर्गतका होटल प्रतिष्ठानहरूमा बडा दशै देखी तिहार सम्म प्रकाशित दररेट (आवासमा) पाहुनालाई ३० प्रतिशत सम्म छुट दिने घोषणा गरेको अध्यक्ष सुवेदीले जनाउनु भयो । 

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्डको स्तरोन्नति कार्य पनि धेरै हदसम्म अगाडि बढेको, राजमार्ग खुल्ला अवस्थामा नै रहेको तथा पोखरा जोड्ने अन्य राजमार्गहरूको अवस्था सामान्य रहेकोले दशैं तथा तिहार पर्वको अवसरमा अधिकांश पर्यटकहरूलाई आकर्षण गर्न उक्त छुटको व्यवस्था गरिएको सङ्घले जनाएको छ । 

देशमा भएको आर्थिक मन्दी सहित पछिल्लो क्रममा भएको बाढी पहिरोले पोखरा क्षेत्रमा खस्केको पर्यटन क्षेत्रलाई आकर्षण गर्न सङ्घमा आबद्ध पर्यटक स्तरीय ५ स्टार होटलसम्म उक्त छुट लागु हुने भएको संघका महासचिव राजेन्द्र ढकालले जनाउनु भयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button