तपाईँ सुन्दै हुनुहुन्छः

‘पोषणको अवस्था सुधार्न खाने बानीमा परिवर्तन ल्याउन आवश्यक’

जनकपुरधाम । मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंहले मधेश प्रदेशमा पोषणको अवस्था सुधार गर्न खाने बानीमा परिवर्तन ल्याउन आवश्यक भएको बताउनुभएको छ ।

मधेश प्रदेशको स्वास्थ्य निर्देशनालयको आयोजनामा जनकपुरधाममा सम्पन्न भएको प्रदेश स्तरीय पोषण कार्यक्रमको समीक्षाको समापनमा उहाँले मानव सूचकाङ्कमा पछाडि परेको मधेश प्रदेशमा सुधारका लागि थप काम गर्न जरुरी रहेको बताउनुभयो ।

उहाँले मधेश प्रदेशमा पर्याप्त मात्रामा खाद्यान्न भए पनि खाने प्रक्रिया तथा विधिका विषयमा जानकारी नभएका कारण बालबालिकामा पुड्कोपन, ख्याउटेपन, रक्तअल्पता तथा कम तौलको शिशु जन्मिने समस्या यथावत् रहनु चिन्ताको विषय भएको बताउनुभयो ।

स्वास्थ्यमन्त्री सिंहले गरिब तथा विपन्न वर्गमा पनि मुसहर जातिका बालबालिकामा कुपोषणको अवस्था विकराल भएकाले ती समुदायलाई लक्षित गरेर विशेष कार्यक्रम ल्याउन जरुरी रहेको बताउनुभयो ।

मधेश प्रदेशका जिल्लाहरूमा पाकेट खाना तथा बच्चालाई डब्बाको दूध खुवाउने प्रवृत्ति बढेका कारण बालबालिकामा कुपोषणको अवस्था उच्च रहेको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा. राजीव कुमार झाले बताउनुभयो ।

मधेश प्रदेशमा १२ प्रतिशत आमाहरूले आफ्ना शिशुलाई बट्टाको दूध खुवाउने गरेको र यो क्रम बढ्दो मात्रामा रहेको मधेश प्रदेशका स्वास्थ्य निर्देशनालयका पोषण अधिकृत विनोद यादवले जानकारी दिनुभयो ।

कार्यक्रममा मधेश प्रदेशका ८ जिल्लाका स्वास्थ्य कार्यालयका प्रमुख, पोषण अधिकृतहरू, पोषण सुधार केन्द्रका प्रमुख तथा पोषणको क्षेत्रमा काम गर्ने गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहभागिता रहेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button