तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय नागरिकको हत्या आरोपमा १ जना पक्राउ 

भैरहवा । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय नागरिकको हत्या आरोपमा एकजना नेपाली युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्याङ्जाको गल्याङ नगरपालिका घर भई हाल रुपन्देहीको तिलोत्तमा–१६ मधवलिया बस्ने २४ वर्षीय आशिष भण्डारी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

भारतको नयाँ दिल्ली बस्ने ३० वर्षीय मोहम्मद अज्जर खानको हत्याको आरोपमा भण्डारीलाई पक्राउ गरिएको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) रञ्जित सिंह राठौरले बताउनुभयो । 

एसपी राठौरका अनुसार गत भदौ ३१ गते तिलोत्तमा–१३ मोडहास्थित धान खेतको बीचमा जेब्रा झोलाभित्र सडेर गलेको अवस्थामा नाम, थर र वतन नखुलेको अन्दाजी २५/३० वर्षीय युवकको शव फेला परेको भन्ने प्रहरीलाई सूचना प्राप्त भएको थियो । उक्त शवलाई पोष्टमार्टमको लागि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा लगेर शव पहिचानको लागि स्थानीय सञ्चार माध्यम र जिल्ला प्रहरी कार्यालयको फेसबुकमार्फत हुलिया सम्प्रेषण गरिएको एसपी राठौरले जानकारी दिनुभयो ।

‘असोज १७ गते मृतक युवकको दाइ हैदर अली खानले अस्पतालमा गई उक्त शव आफ्नो भाइ मोहम्मद अज्जर खानको रहेको भनी सनाखत गर्नुभयो, ’उहाँले भन्नुभयो  प्रहरीका अनुसार मृतक र अभियुक्तबिच विगत ८ महिनादेखि भारतको दिल्लीमा फोटोग्राफीको सिलसिलामा चिनजान भएको थियो । दुवैजनाले एउटै एजेन्टमार्फत काम गर्दै आएको र अभियुक्त भण्डारी २ महिनाअघि दिल्लीबाट नेपाल फर्केका थिए । 

खान भदौ २४ गते भारतको गोरखपुरमा रहेको कुरा घरपरिवारलाई जानकारी भएपश्चात् सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ ।  ‘मृतक अज्जु भन्ने मोहम्मद अज्जर खान भदौ २५ गते अभियुक्त भण्डारीको घरमा आएको अनुसन्धानबाट खुलेको छ ।

 सोही दिन मृतक खान र अभियुक्त भण्डारीबिच वादविवाद हुँदा अभियुक्तले धारिलो हतियार प्रहार गरी मृत शवलाई तन्नाले बेरी बोराभित्र पोका पारेर उक्त पोकालाई जेब्रा झोलाभित्र राखी रातको समयमा आफ्नो घरदेखि ३ सय मिटर पश्चिम धान खेतमा लगेर फालेका थिए, ’एसपी राठौरले भन्नुभयो । घटनाबारे थप अनुसन्धान जारी रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button