तपाईँ सुन्दै हुनुहुन्छः

मिथिलाञ्चलमा जितिया पर्व शुरु

सप्तरी । सन्तानको दीर्घ जीवन, दीर्घायु पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र पर्व ‘जितिया’ सप्तरी लगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा गर्दै आजदेखि सुरु भएको छ ।

मिथिला पञ्चाङ्गअनुसार मिथिलाञ्चलमा आज ओंगठन, असोज ८ गते मङ्गलबार जितिया व्रत र असोज ९ गते बुधबार साँझ ५ः१५ बजे जितिया व्रत पारण उल्लेख रहेको कारण मिथिलाञ्चलमा आजदेखि जितिया व्रत सुरु भएको हो ।

तिथिको हेरफेरअनुसार यस वर्ष मिथिलाञ्चलमा आज नहा खा विधिबाट सुरु हुने जितिया पर्वमा व्रतालु महिलाहरू मङ्गलबार बिहान ४ बजेदेखि मङ्गलबारको दिनभरि र रातभरि तथा बुधबार दिनभरि उपवास बस्नुपर्ने छ भने बुधवारकै दिन साँझ ५ः१५ बजे पारण गर्दै व्रत सम्पन्न गर्ने पञ्चाङ्गमा उल्लेख रहेको छिन्नमस्ता मन्दिरका पिठाधिस महाकान्त ठाकुरले बताउनुभयो ।

व्रत (उपवास) बस्नुअघि आजको दिन महिलाहरूले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान् जितमाहन देवता र आफ्ना दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादका रुपमा चढाई आफू पनि खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।

त्यसैगरी, भोलि (मङ्गलबार) बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जल व्रत बसी पर्सि (बुधबार) साँझ ५ः१५ बजे व्रत सम्पन्न गर्नेछन् ।

व्रत बस्नु अघिल्लो दिनमै (आज) व्रतालुले विभिन्न जलाशयमा स्नान गरी घिरौँलाको पातमा पिना, सक्खर र तोरीको तेलसहितका पदार्थ चढाउनुपर्छ । देवतालाई चढाएकै तेलमध्येबाट आ–आफ्ना शाखा सन्तानलाई पनि प्रसादका रुपमा सोही तेल लगाइदिने चलन छ ।

व्रतको पहिलो दिन (आज) पूजापछि कोदोको रोटी, नुनीको साग र माछा खाने चलन छ, जसलाई स्थानीय भाषामा ‘माछ मरुवा’ भनिन्छ ।

त्यसैगरी, विधिअनुसार भोलि एकाबिहानै काग कराउनुभन्दा पहिल्यै व्रती (व्रतालु) महिलाहरू ओङ्गठन सम्पन्न गर्नुपर्छ अर्थात् केही खानेकुरा ओठमा लगाउनुपर्छ । प्रायः जसो महिलाहरूले ओङ्गठनमा च्यूरा, दही खाने गरेको पाइन्छ । त्यसपछि सुरु हुन्छ विकट उपवासको क्रम ।

राजा शालिवहानको राज्यमा एउटी महिलाका सातजना छोराहरूलाई दैत्यले उठाएर लगेपछि राजाले सातै छोरालाई दैत्यबाट फिर्ता ल्याइदिएका कारण महिलाले त्यस दिनदेखि शालिवहानलाई ‘जितुमाहन’ नामाकरण गरी राजाको सम्झनामा उपवास बस्न थालेकाले यो व्रत सुरु भएको पौराणिक कथन रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button