तपाईँ सुन्दै हुनुहुन्छः

धनुषा तथा महोत्तरीका नयाँ चार पालिकामा खाद्य तथा पोषण सुरक्षाको कार्यक्रम 

जनकपुरधाम । धनुषा तथा महोत्तरी जिल्लाका नयाँ चारवटा बाढी प्रभावित गाउँपालिकाका गढिरव तथा विपन्न कृषकलाई लक्षित गरेर खाद्य तथा पोषण सुरक्षाको कार्यक्रम यस पटक लागु भएको छ । 

विश्व बैङ्कको अनुगमन, खाद्य तथा कृषि सङ्गठनको प्राविधिक सहयोग, ग्लोबल एग्रीकल्चर फुड सेक्युरिटी प्रोग्रामको आर्थिक सहयोगमा नेपाल सरकारले सञ्चालन गरेको सो कार्यक्रम महोत्तरी जिल्लाको समसी र सोनमा तथा धनुषा जिल्लाको वटेश्वर र जनकनन्दनी गाउँ पालिकामा सञ्चालन गरिन भएको छ । 

दोस्रो चरण अन्तर्गत सञ्चालन हुन लागेको कार्यक्रमका लागि चारै वटा  पालिकाहरूमा आर्थिक वर्ष शुरु भएको पहिलो महिना भित्रमा नै ५४० समूह गठन गर्ने काम भएको खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाई धनुषाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत युगल किशोर तिवारीले जानकारी दिनु भएको हो । 

१० कठ्ठा जग्गा भएका गरिब तथा विपन्न वर्गका किसानलाई लक्षित गरेर सञ्चालन हुन लागेको सो कार्यक्रम अन्तर्गत कृषि, पशुपालन, पोषण सुरक्षा, कृषि उत्पादनको बजारीकरण गरेर किसानको आर्थिक तथा सामाजिक अवस्थामा सुधार ल्याउने गरि काम गर्ने भएको आयोजनाले जनाएको छ । 

पहिलो चरण अन्तर्गत धनुषाका मुखियापट्टी मुसहरनीया, धनौजी तथा महोत्तरीको पिपरा र एकडरा बेलामा गाउँपालिकामा कार्यक्रम गरेपछि राम्रो परिणाम आएका कारणले दोस्रो चरण अन्तर्गत फेरि चार वटा नयाँ गाउँपालिकामा तीन वर्षका लागि कार्यक्रम स्वीकृत भएर आयोजनाको काम अगाडी बढाउने काम भएको आयोजनाले जनाएको छ ।

मधेश प्रदेशका सप्तरी तथा सिरहा जिल्लामा पनि कार्यक्रम सञ्चालनमा रहेको छ । आयोजनाले अहिले सूचना प्रकाशन गर्ने, कार्यस्थलमा सम्पर्क कार्यालय स्थापना गर्ने, कार्य स्थलमा खटिने प्राविधिकको व्यवस्थापन गर्ने काममा अगाडी बढाएको आयोजनाका योजना अधिकृत रितेश कुमार झाले जानकारी दिनु भयो । 

आयोजनाले किसानलाई कृषि उत्पादन मार्फत सबल बनाउने उद्देश्य दिनुका साथै ती पालिकाहरू महिला तथा बालबालिकाको पोषण अवस्थामा सुधार गर्नु रहेको छ । कार्यक्रम अन्तर्गत यस पटक सिँचाइका लागि डिप बोरिङ्गको कार्यक्रम पनि रहेको छ । सबै कार्यक्रमहरू गर्नका लागि आयोजनामा चालु आर्थिक वर्षमा २२ करोड रकम रहेको पनि आयोजनाले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button