तपाईँ सुन्दै हुनुहुन्छः

चैफेरीवासीको पीडा : सडक निर्माण नहुँदा कष्टपूर्ण यात्रा गर्न बाध्य

बाँके । बाँकेको डुडुवा गाउँपालिकाको वडा नं. १ कृषि चौफेरीमा अझै सडक र बिजुली पुग्न सकेको छैन । स्थानीय सरकारले बस्तीको विकासका लागि कुनै योजना तयार नगर्दा स्थानीयवासीहरु हिलो भएको रोडमा हिँड्न र टुकीकै भरमा जीवन गुजारिरहेका छन् ।

सुन्दा अचम्म लाग्न सक्छ, यही सुगम जिल्ला भित्र पनि थुप्रै दुर्गम ठाउँहरू छन्, जहाँ अहिलेसम्म बिजुली बत्ती पुगेको छैन । त्यहाँका जनता अझै पनि टुकी मुनि रात कटाउन बाध्य छन् ।  यही मध्येको एक हो डुडुवा गाउँपालिकाको कृषि चाफैरी गाउँ ।  

सडक निर्माण नहुँदा गाउँ भित्रै हिँड्न कठिन रहेको स्थानीयहरूले गुनासो गर्दै भने यहाँ राष्ट्रिय प्रसारण लाइन समेत जोडिएको छैन । केही व्यक्तिले सोलार जडान गरेका छन् भने बाँकी केही परिवारले टुकी बाल्नु परेको बताए । 

कृषि चौफेरी घर भएका ८० वर्षीय फकिरे यादवले भन्नुभयो, ‘नेपाली होइनौँ भने सरकारले नागरिकता दिएको छ, हौँ भने न राज्यको कुनै सेवा सुविधा छ । न पानी, न विद्युत् न त सरकारी अस्पताल नै, भारतको भरमा बाँचेका छौँ ।’ 

डुडुवा खोला र राप्ती नदिको बिचमा रहेको कृषि चौफेरीमा १०५ घर रहेको छ । बाढी र डुबानको पिडा झेल्दै आएका चौफेरीका स्थानीय प्रलहाद यादवले भन्नुभयो, ‘दुवैतिर नदीका कारण गाउँ कुनै सडक सञ्जालसँग जोडिएको छैन, न बिजुली, खानेपानी र अन्य राज्यका निकायको नै उपस्थिति छ ‘न हिँड्न आफ्नो बाटो छ, न जाने ठाउँ छ ।’, उहाँले भन्नुभयो, ‘आफ्नो ठाउँमा जाने बाटो छैन, बस्तीबाट धेरै टाढा पर्छ’, सामान किनमेल गर्न, मजदुरी गर्न जे काम भए पनि भारतकै भर पर्नुपर्ने बाध्यता रहेको यादवले आफ्नो पिडा सुनाए । 

चौफेरीमा राज्यको अहिलेसम्म कुनै उपस्थिति हुन सकेको छैन ।’ यो गाउँमा चुनावका बेला मात्रै नेता र राज्यका निकायको चहलपहल हुने गर्छ । ‘चुनावमा भोट माग्न आउनेको भने लर्को नै लाग्छ, त्यसपछिका पाँच वर्ष कसैको नाकमुख देखिन्न’ चौफेरीका फकिरेको भनाई थियो ।

‘जतिलाई भोट दिए पनि कसैले समस्या समाधान गर्नेतर्फ ध्यान दिएनन् ।’ बाटो नहुँदा बर्खामा मान्छे बिरामी भए पछि उपचारका लागि सदरमुकाम नेपालगन्ज जान सक्ने अवस्था नै हुदैन् ।  फकिरले भन्नुभयो हामीले पटक पटक गाउँपालिकाका अध्यक्ष र वडा अध्यक्ष लाई समस्याका बारेमा जानकारी नगराएका होइनौ तर उहाँहरूले हामीहरूलाई गैर नागरिकको जस्तै व्यवहार गरी रहनु भएको छ । फकिरेले स्थानीय सरकारले आफूहरूको पिडालाई नसुने पनि प्रदेश र संघीय सरकारले सुन्नु पर्ने हो तर प्रदेश र संघीय माननीयहरूले समेत आफ्नो गाउँलाई अवहेलना गरेको आरोप लगाए । 

मुन्सीलाल यादवले भन्नुभयो वर्षातमा झन् रातभर सुत्न पाइदैन्। ‘वर्षातका बेला बाढी आउला र बगाउला भन्ने डर हुन्छ ।’, 

स्थानीयले देशरानी यादवले आफ्नो बस्तीमा राज्यको उपस्थित हुनुपर्ने माग गर्नु भयो । ‘पटक–पटक नेतालाई यहाँको समस्या समाधानका लागि भन्दै आएका छौँ’देशरानीले भन्नुभयो, ‘चुनावका बेला मात्रै भोट माग्ने बहानामा विभिन्न विकासका आश्वासन बाँडिन्छन्, जितेर गइसकेपछि भने कसैले यहाँ आएर हेर्दैन ।’

डुडुवा १ का वडा अध्यक्ष पटेश्वर कुर्मीले पनि सडक र बिजुली नपुगेको सत्य भएको बताउनु भयो । उहाँका अनुसार हुनेखानेहरुले सोलार जडान गरेका छन् । अन्य व्यक्तिहरू बिजुलीको पर्खाइमा रहेको बताउनु भयो । वडाअध्यक्ष कुर्मीका अनुसार धेरैजसो घरपरिवारले सौर्य बत्ती जडान गरेपनि केही भने अझै टुकी मुनि बस्नु पर्ने बाध्यता रहेको सुनाए । दोस्रो कार्यकालका लागि निर्वाचित वडा अध्यक्ष कुर्मीले गाउँपालिकाले वडालाई बजेट नदिएका कारण वडाबाट कुनै पनि विकास निर्माणको काम गर्न नपाएको सुनाउनु भयो । उहाँले भन्नुभयो, कृषि चौफेरीको भन्दा जुम्लामा बस्ने नागरिकको जीवन राम्रो रहेको बताउँदै उहाँले चौफेरीका नागरिक राज्यको पहुँच भन्दा बाहिरा रहेको स्वीकार गर्नु भयो । अध्यक्ष कुर्मीले भन्नुभयो, तत्काल बाटो बनाउन सक्ने अवस्था छैन तर बिजुलीका लागि पहल भई रहेको र वर्षात सकिने बित्तिकै काम सुरु गराउने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

डुडुवामा विकास गर्दै नगरेका पनि होइन । तर पहुँचवाला नेताबाट जुन खालको अपेक्षा मतदाताले गरेका थिए त्यो भने हुन नसकेको वडाअध्यक्ष कुर्मीको भनाइ छ ।

यो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा जसपाबाट मोहम्मद इश्तियाक राई दुई पटक निर्वाचित हुनु भयो तर उहाँले समेत कृषि चौफेरीमा न त सडक निर्माणका लागि बजेट दिन सक्नु भयो न त बिजुलीका लागि कुनै पहल । हाल सो क्षेत्रबाट राप्रपाका डा.धवल शम्शेर राणा निर्वाचित हुनु भएको छ । प्रभावशाली नेताको छवि बनाउनु भएका नेता राणाको हरेक पार्टीका केन्द्रीय स्तरका नेतासँगको सम्बन्ध र उठबस पनि राम्रै छ । राणाले चौफेरीलाई सदरमुकाम सँग जोडने र सुविधा सम्पन्न बनाउने प्रतिबद्धता व्यक्त गर्दै चुनाव जित्नु भयो तर चुनाव जितेपछि चुनावका बेला उठाएका बाचा पनि बिर्सने प्रवृत्ति नेता राणामा पनि देखिएको स्थानीय फकिरेको भनाई थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button