तपाईँ सुन्दै हुनुहुन्छः

पोखरा क्षेत्रमा खपटे किराका कारण महामारीको रूप लिँदै,  कसरी बच्न सकिन्छ ?

पोखरा । वर्षा र गर्मीका कारण यती वेला पोखराका अधिकांश क्षेत्रमा खपटे किराको प्रकोपले दिन प्रतिदिन पोखरा आसपासका क्षेत्रमा महामारीको रूप लिए सँगै अधिकांश बिरामी अस्पतालमा भिड लाग्ने गरेको छ  ।

पोखरा महानगरपालिका वडा नंं ३० मा रहेको सङ्क्रामक तथा सरुवा रोग अस्पताल तथा र पश्चिमाञ्चल क्षेत्री अस्पताल पोखरामा  दैनिक २० प्रतिशत बिरामीको चाप बढेको छ । अधिकांश क्षेत्रमा यस किराको प्रकोपले छालामा मिचिने गर्दा एलर्जी हुने ज्वरो आउने, घाउ पोल्ने र छालामा धर्सा रेखा देखा पर्ने हुन्छ ।

यस किराको शरीरमा बग्ने पिडेरिन नामको रसायन मानव शरीरको सम्पर्कमा आउँदा त्यसले गराउने इरिटेन्ट कन्ट्याक्ट डर्माटाइटिस अथवा छालाको एलर्जी हुने गरेको सङ्क्रामक तथा सरुवा रोग अस्पतालका डा. विकाश गौचनको बताउनु हुन्छ  ।

हालका दिनमा यस किराको सक्रियता बढेको वरिष्ठ छाला यौन तथा कुष्ठरोग विशेषज्ञ आविष्कार हस्पिटल बुद्धचोक पोखराका डाक्टर रमेश शर्माको भनाइ रहेको छ ।   यो किराले टोक्ने भन्दा पनि छालामा मिचिने गर्दा यो एलर्जी हुन्छ। राति सुत्ने बेलामा केही नभएको तर बिहान उठ्दा घाउ देखिएको धेरैको अनुभव हुन्छ । किनभने निन्द्रामै शरीरमै कतै यो किरा मिचिएको हुनसक्छ त्यसैले धेरै व्यक्तिलाई यसको सम्पर्कमा आएको याद नहुन पनि सक्छ । शरीरका खुला भागमा बढी देखिने भए तापनि कपडा अथवा बिस्तारामा पनि जाने हुँदा शरीरको जुनसुकै भागमा पनि यसले एलर्जी गराउन सक्दछ ।

के हो खपटे किरा र किन वर्षायाममा सक्रियता पढ्छ ।
Paederus dermatitis भनेको Paederus beetle  नामको किराको शरीरमा पाइने पिडेरिन नामक रसायनका कारण छालामा हुने एलर्जी हो । अफ्रिकातिर नाइरोबी फ्लाईका नामले चिनिने यस किरालाई नेपालीमा खापटेकिरा पनि भन्ने गरिन्छ । अङ्ग्रेजीमा रोभ बिटल भनेर पनि यसलाई चिनिन्छ । गाढा कालो र खैरो रङको शरीर भएको सो किराको लम्बाई ७ देखि १३ मिलिमिटर हुन्छ। र कहिलेकाहीँ कमिलासँग झुक्किने पनि गर्दछ । यो किरा सेतो प्रकाशप्रति बढी आकर्षित हुने गर्दछ। खोलाको किनार सिमसार क्षेत्र, धानखेत वरपर, सुन्तला र कागतीको खेती नजिक यो किरा बढी मात्रामा पाइने गर्दछ । पहिले पहिले तराईमा मात्र भेटिने सो किरा केही वर्ष यता पोखरा काठमाडौँ लगायत पहाडी भेगहरूमा पनि प्रशस्त पाइने गरेको छ । विशेषगरी वर्षायाममा, सापेक्षिक आद्रता धेरै हुने मौसममा यसको प्रकोप बढी हुने गर्दछ।

लक्षणहरू:
यस किराको सम्पर्कमा आएको २४ देखि ४८ घण्टाभित्रमा छालामा चिलाउने अथवा पोल्ने लक्षण देखिन्छ। किरा मिचिएको भागमा धर्के घाउहरू देख्न सकिन्छ । घाउको बीच भागमा पहेँलो र वरिपरि रातो चाला देखिने यसको प्रमुख लक्षण हाे। सामान्य रातो घाउदेखि एकदमै पोल्ने दुख्ने ठूला घाउसम्म पनि हुने गर्दछ। कहिलेकाहीँ जिउका धेरै भागमा घाउ भएर ज्वरो आउने जोर्नी दुख्ने, एकदमै पीडा हुनेसम्मको पनि लक्षण हुनसक्छ । कहिलेकाहीँ शरीरको एकापट्टि मात्र आउने र पोल्ने हुँदा जनै खटिरासँग पनि झुक्याउने गर्दछ ।

आँखाको वरिपरिको छालामा रसायन पसेको बेला यसले आँखाभित्र पनि असर गर्न सक्दछ । आँखा रातो हुने, आँखाभित्र चिलाउने जस्ता लक्षण भएको बेला आँखाको पनि जाँच गराउनुपर्ने हुन्छ।

प्राथमिक उपचार:
घाउ देख्ने बित्तिकै यसलाई साबुन पानीले राम्ररी सफा गरेर ओभानो बनाउनु पर्दछ ।

उपचार:
सामान्य अवस्थामा उपचार नै नगरिकन पनि यो घाउ एक हप्ताभित्रै आफै पनि निको हुन सक्दछ ।

तर घाउ ठूलो भएको अवस्थामा आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा लगाउने मलम तथा खाने औषधिको प्रयोगबाट यो समस्यालाई पूर्ण रुपमा निको बनाउन सकिन्छ।

घाउ निको भएपनि घाउको दाग हराउन केही महिनासम्म पनि लाग्न सक्छ।

बच्ने उपायहरू:
किराको प्रकृति र बासस्थानको बारेमा सचेतना जगाउने ।

घरका झ्याल ढोकामा जाली लगाउने झुलभित्र सुत्ने

प्रकोप बढी भएका ठाउँमा किटनाशक औषधिको प्रयोगद्वारा किराको विनाश गर्ने

उज्यालो बत्तीको मुनि नबस्ने नसुत्ने यसले गर्दा किराको सम्पर्कमा आउने सम्भावना कम हुन्छ।

शरीरमा किरा देखिएको अवस्थामा नमिच्ने बरु फुकेर उडाउन सकिन्छ या कागजमा टिपेर फाल्न सकिन्छ।

प्रकोप बढी भएको ठाउँमा जाँदा शरीर ढाक्ने लामो बाहुला भएका कपडा लगाउने आवश्यकता अनुसार इन्सेक्ट रिपेलेन्ट क्रिमको प्रयोग गर्ने

मोटरसाइकल / साइकलमा सवारी गर्दा आँखामा चस्मा लगाउने । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button