तपाईँ सुन्दै हुनुहुन्छः

झापामा बुबाको हत्या आरोपमा छोरा पक्राउ

भद्रपुर, झापा । झापाको हल्दिबारीमा आफ्नै बाबुको हत्या आरोपमा प्रहरीले छोरालाई नियन्त्रणमा लिएको छ । गएराति २ बजे हल्दिबारी–२ पाराखोपी बजारपूर्व ६३ वर्षीय बासु राजवंशी आफ्नै घरको आँगनमा रहेको लिचीको बोटमा शङ्कास्पद अवस्थामा झुन्डिएको फेला परेका थिए ।

राजवंशीको टाउको र आँखामा चोट देखिएकोले घटना शङ्कास्पद देखिएपछि उनका छोरा ३० वर्षीय सुनिल राजवंशीलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दले बताउनु भयो । डिएसपी चन्द नेतृत्वको टोलीले ४ घण्टा लगाएर अनुसन्धान गरेपछि मृतक राजवंशीका छोरा सुनिललाई नियन्त्रणमा लिएको हो ।

झुन्डिएको अवस्थामा फेला परेका राजवंशीको टाउको, अनुहारसहित शरीरका विभिन्न भागमा चोट लागेको र अनुहारभरि रगत देखिएको वडाध्यक्ष शुकलाल राजवंशीले बताउनु भयो । सुनिललाई नियन्त्रण लिएर जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ ।

मृतक बासु र उनका छोराबीच राति झगडा भएको बताइएको छ । छोराको लुगामा समेत रगत भेटिएको डिएसपी चन्दले बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button