तपाईँ सुन्दै हुनुहुन्छः

पर्यटकको पर्खाइमा ऐतिहासिक ‘चुरियामाई सुरुङ’

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौँडाको दक्षिणी र प्रदेश नम्बर २ को उत्तरी सिमानामा अवस्थित दक्षिण एसिया कै पहिलो सुरुङ ‘चुरियामाई सुरुङ’ पर्यटकको पर्खाइमा रहेको छ । जीर्णोद्धार सम्पन्न भएको करिब ६ महिना बितिसक्दा समेत स्थानीय तहको बेवास्ताका कारण पर्यटकले प्रवेश पाउन नसकेका हुन् । 

बिशेषगरि हेटौँडा उपमहानगरपालिकाले बेवास्ता गर्दा यसको प्रयोगमा ढिलासुस्ती भएको छ । ऐतिहासिक महत्वको सुरुङ मार्ग परिसरलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यसहित प्रदेश सरकारले यसको जीर्णोद्धारको काम गरेको हो । तत्कालीन राणा प्रधानमन्त्री चन्द्र शमशेरको पालामा सन् १९१७ मा निर्माण गरिएको उक्त सुरुङको गत माघमै जीर्णोद्धारको काम सम्पन्न गरिएको हो । तर, निर्माण सम्पन्न भएको ६ महिना बितिसक्दा समेत हेटौँडा उपमहानगरपालिकाले बेवास्ता गर्दा प्रयोगमा ल्याउन सकिएको छैन । 

बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको पालामा हेटौँडा उपमहानगरपालिका–१५, स्थित चुरियामाई मन्दिरसँगै रहेको करिब २२५ मिटर लामो उक्त सुरुङ मार्गलाई उच्च प्राथमिकता राखेर जीर्णोद्धार कार्य सुरु भएको थियो । चुरियामाई मन्दिर प्राङ्गणमा एसिया कै पहिलो सुरुङ मार्गको पुनःनिर्माणको लागि प्रदेश सरकारको ४ करोड ५७ लाख २० हजार रुपैयाँ रकमको लागत अनुमान गरिएको थियो । २०७९ साल वैशाख १९ गतेसम्म १९८ मिटर लम्बाइको सुरुङ मार्ग पुनः निर्माण गर्ने भनिए पनि विविध कारणले निर्धारित समयभन्दा एक वर्षपछि मात्र सुरुङ मार्गको काम सम्पन्न गरिएको हो । 

पछिल्लो पटक गत साता प्रथम मुख्यमन्त्री पौडेलले सुरुङ मार्गको अवलोकन गर्नुहुँदै यसलाई छिटै प्रयोगमा ल्याउनु पर्ने बताउनुभयो । हेटौँडा–१५ का वडा अध्यक्षलगायत जनप्रतिनिधि र यातायात पूर्वाधार निर्देशनालयका कर्मचारीसहितको टोलीले सुरुङ मार्गको अवलोकन गर्नुभएको थियो । सो क्रममा उहाँले यसलाई तत्काल सञ्चालनमा ल्याउन आग्रह गर्नुभयो । उहाँले यस विषयमा लाग्न वडा अध्यक्ष तथा निर्देशनालयका कर्मचारीलाई आग्रह गर्नुहुँदै आफ पनि यसको सञ्चालनका विषयमा उपमहानगरपालिकासँग कुरा गर्ने बताउनुभयो ।

ऐतिहासिक महत्वको सुरुङ मार्ग परिसरलाई उत्कृष्ट पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यसहित प्रदेश यातायात पूर्वाधार निर्देशनालय हेटौँडाले सुरुङ पुनः निर्माणको लागि कुल ३ करोड ३६ लाख १३ हजार रुपैयाँमा माउन्टेन इन्फ्रा कम्पनी लिमिटेड काठमाडौँसँग ठेक्का सम्झौता गरेको थियो । सो सम्झौता अनुसार सुरुङको चौडाइ साढे २ मिटर र उचाइ ३ फिट हुने गरी पहिलेकै स्वरूपमा पुनः निर्माण गरिएको छ ।

नेपालका प्रथम ग्र्याजुएट इन्जिनियर डिल्लीजंग थापाको नेतृत्वमा निर्माण भएको ‘चुरियामाई सुरुङ’ मार्गको जीर्णोद्धार सम्पन्न गरी यातायात पूर्वाधार निर्देशनालय हेटौँडालाई हस्तान्तरण गरिसकेको निर्देशनालयका सूचना अधिकारी हरि ओझाले जानकारी दिनुभयो । निश्चित मापदण्ड तयार गरी सुरुङ मार्ग नागरिकहरूका लागि खुल्ला गरिने उहाँले बताउनुभयो । प्रदेश सरकारको योजना अनुसार सुरुङ मार्ग र सोको इतिहासका विषयमा अध्ययन तथा अनुसन्धान गर्न चाहनेहरूका लागि सुरुङ तयार अवस्थामा रहेको छ ।

प्रदेश सरकारको योजना अनुसार सो सुरुङ नागरिकहरूलाई अवलोकनको लागि खुल्ला गर्ने अवस्थामा रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार सुरुङ मार्ग सञ्चालनका लागि स्थानीय तह हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने निर्देशनालयको तयारी रहेको छ । तर, उपमहानगरपालिकालाई पटक पटक पत्राचार गर्दा समेत कुनै प्रतिक्रिया नआएको उहाँले बताउनुभयो । सुरुङ मार्ग भित्र विद्युतीय लाइट जडान गरिएको छ भने सुरुङ मार्गको २ प्रवेश द्वारमा सजावटको काम गरिएको छ ।

चुरियामाई सुरुङको इतिहास

काठमाडौँलाई हेटौँडा हुँदै तराईसँग जोड्ने गरी चुरे पर्वतमा निर्माण गरिएको सुरुङ मार्ग दक्षिण एसिया कै पहिलो भएको स्विस नागरिक टोनी हेगनले सन् २००४ मा लेखेको ‘दी हिमालयन  किङडम  अफ नेपाल’ नामक पुस्तकमा उल्लेख गरिएको छ । चुरियामाई सुरुङ मार्ग बन्नुअघि छिमेकी देश भारतमा कुनै किसिमको सुरुङ मार्ग नबनेको सो पुस्तकमा उल्लेख गरिएको छ ।

पूर्व–पश्चिम राजमार्ग निर्माण हुन अघि भारतबाट आयातित सामग्रीलाई चुरियामाई सुरुङ मार्ग हुँदै भीमफेदीसम्म लैजाने गरिन्थ्यो । सो सुरुङ मार्ग काठमाडौँलाई तराइसँग जोड्ने प्रमुख नाकाको रूपमा रहेको थियो । सुरुङ मार्ग भएर भित्रिएका सामग्रीहरू भीम फेदीबाट मानिसले बोकेर काठमाडौँ पुर्‍याउने गरिन्थ्यो ।

चुरियामाई सुरुङ मार्गको डिजाइन इन्जिनियर कर्णेल थापाले १९७५ सालमा गरेका थिए । प्रधानमन्त्री चन्द्र शमशेरको आदेशमा सुरुङमार्ग बनाउन नेपाली सेना खटिएका थिए । ७०० मिटर लम्बाइ, ९ फिट चौडाइ र १० फिट उचाइ रहेको उक्त सुरुङ मार्गको मालवाहक सवारी ‘लहरी’ छिर्ने आकारमा निर्माण गरिएको थियो । सो समयमा चुरिया सुरुङ खन्नुपर्ने वा बक्स कटिङ गर्नुपर्ने बाध्यता थियो । बक्स कटिङ गर्न उपकरणहरू नभएकाले मानिसद्वारा सुरुङ खनिएको थियो ।

एक दशक भन्दा बढी सो सुरुङ मार्ग हुँदै साना हलुका सवारी साधनहरू आवतजावत गरे । पथलैया–हेटौँडा सडक निर्माण भएपछि भने यो सुरुङ सञ्चालनमा आउन छाड्यो । चुरे पर्वत शृङ्खलामा कटान (बक्स कट) गरी कालोपत्रे सडक निर्माण गरेपछि यो सुरुङ प्रयोगविहीन बनेको थियो । सुरुङ मार्गका दुवैतर्फको प्रवेश द्वार खुला रहे पनि सुरुङको बिच भाग धसिएपछि अवरुद्ध रहेको थियो । सुरुङको बिचमा करिब ४० मिटर धसिएको भाग हटाइ मर्मत सम्भारपछि हाल सुरुङबाट वारपार गर्न सकिने अवस्थामा ल्याइएको छ ।

रक्सौलबाट बाराको अमलेखगन्जसम्म रेलमा आउने र अमलेखगन्जबाट मकवानपुरको पूर्व सदरमुकाम भीमफेदीसम्म सडक मार्गलाई जोड्न हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरे पर्वत छिचोल्ने गरी सुरुङ मार्ग तत्कालीन प्रविधिसँगै माटो, इँटा, चुना र सुर्की प्रयोग गरी निर्माण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button