तपाईँ सुन्दै हुनुहुन्छः

पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध

बझाङ । बझाङमा लगातारको वर्षापछि पहिरो खस्दा आज बिहानदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र राजमार्ग बन्द भएपछि जिल्लाभरिको आवागमन प्रभावित भएको छ ।

जयपृथ्वी राजमार्गको जालेबगर र तमैलमा पहिरोसँगै सडक माथिबाट ठूल्ठूला ढुङ्गा खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बझाङका डिएसपी भरत शाहले बताउनुभयो । जालेबगरको पहिरो स्काभेटर लगाएर पन्छाउने काम भइरहेको समेत डिएसपी शाहले बताउनुभयो ।

तमैलमा भने मेसिनले हटाउन नसक्ने ठूला ढुङ्गा खसेको कारण वैकल्पिक उपायको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी विश्वामित्र कुइँकेलले जानकारी दिनुभयो । “सडकमा ठुला ढुङ्गा खसेका कारण मेसिन प्रयोग गरेर हटाउन सकिएको छैन,” उहाँले भन्नुभयो, “ठूलो खालको मेसिन प्रयोग गरेर सकिन्छ भनेर कोसिस गरिरहेका छाँै ।”

मनसुन सुरु भएयता जयपृथ्वी राजमार्ग पहिरोका कारण दिनहुँजसो अवरुद्ध हुन थालेको छ । आज दिउँसोबाट बझाङमा लगातार झरी परिरहेको छ । अविरल वर्षासँगै सेती नदीको सतह समेत बढ्न थालेकोले सर्तक रहन विपद् व्यवस्थापन समितिले सतर्कता सूचना जारी गरेको छ ।
नदीको सतह बढेसँगै बाढीको खतरा हुने भएकोले सेती नदी र यसका सहायक खोलाको आसपास बस्नेलाई सर्तक रहन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ ।

जल तथा मौसम विज्ञान विभागको नदी सतह अनुगमन गर्ने वेबसाइटले दिउँसो १२ बजेर २० मिनेटमा सेती नदीमा पानीको सतह करिब तीन मिटरले बढेको जनाएको छ ।

वर्षासँगै आएको बाढीले बझाङ जिल्लाका अन्य शाखा सडकहरू पनि अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

मष्टा, सुर्मा, खप्तडछान्ना, बुंगल, थलारालगायतका पालिकाका दर्जनौँ सडक अवरुद्ध भएपछि यातायात प्रभावित भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button