तपाईँ सुन्दै हुनुहुन्छः

मधेश प्रदेशसभा बैठक स्थगित

जनकपुरधाम । मधेश प्रदेशसभाको आज बसेको बैठक शुरु भएको केही मिनटमा नै बैठक स्थगित भएको छ ।

प्रदेशसभाको आजको बैठकमा प्रदेश सरकारका तर्फबाट अर्थमन्त्री भरतप्रसाद साहले पेश गर्नुभएको आर्थिक वर्ष २०८१÷२०८२ बजेटमाथि छलफल हुने कार्यक्रम रहेको थियो ।

बिहान ११ः०० बजेका लागि बोलाएको बैठक ढिलो गरी सुरु भएको थियो । बैठक शुरु भएको घोषणा सभामुख रामचन्द्र मण्डलले गर्नुभएपछि लोकतान्त्रिक समाजवादी पार्टीका नेत्री रानी शर्मा तिवारीले असार १६ गते मुख्यमन्त्रीलाई बजेटको रातो किताबको विषय सहितको तीन बुँदाको माग सहितको ध्यानाकर्षण पत्र बुझाएको र त्यस विषयमा सरकारको धारणा नआएसम्म बजेटमा छलफल गर्नु उचित नभएको बताउनुभयो ।

शर्माले बोली सकेपछि सभामुख रामचन्द्र मण्डलले प्रदेशसभाको बैठक १० मिनटका लागि स्थगित गर्नुभए पनि साढे तीन बजेसम्म बस्न सकेको छैन । अहिले सभामुख रामचन्द्र मण्डलको उपस्थितिमा विभिन्न दलहरूको नेता सम्मिलित बैठक प्रदेशसभा सचिवालयमा जारी छ ।

नेपाली काँग्रेस, जनता समाजवादी पार्टी, लोसपा पार्टीसहित ४ दलले बुझाएको ध्यानाकर्षण पत्रको विषयमा आधिकारिक धारणा आएपछि मात्र बजेटमाथि छलफल हुने भएको छ ।

गत असार १ गते मधेश प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री भरतप्रसाद साहले आर्थिक वर्ष २०८१÷८२ का लागि ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँको बजेट प्रदेशसभामा पेश गर्नुभएको थियो ।

पेश भएको बजेटमा चालुतर्फ १६ अर्ब ७ लाख १ हजार र पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार बिनियोजन गरेको थियो ।

सरकारले कूल बजेटको चालु तर्फ ३६.५४ प्रतिशत र पुँजीगततर्फ ६३.५६ बजेट बिनियोजन गरेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button