तपाईँ सुन्दै हुनुहुन्छः

कोशी प्रदेशमा ३८ हजार ३ सय ८४ जनामा डेंगीको संक्रमण

धनकुटा । कोशी प्रदेशमा लामखुट्टेको टोकाइबाट सर्ने डेंगी संक्रमण बढ्दै गएको छ ।

कोशी प्रदेशमा यस आर्थिक वर्षको असार २१ गतेसम्म ३८ हजार ३ सय ८४ जनामा डेंगी संक्रमण देखिएको छ । कोशी प्रदेशका १४ जिल्ला मध्ये सुनसरी, मोरङ र झापामा डेंगीको संक्रमण बढी देखिएको छ ।

स्वास्थ्य निर्देशनालय धनकुटा दिएको जानकारी अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी सुनसरीमा संक्रमण बढी मात्रामा संक्रमण देखिएको छ भने सबैभन्दा कम ताप्लेजुङ जिल्लामा देखिएको छ ।

शुक्रवारसम्ममा सुनसरीमा २० हजार ९९, मोरङमा ६ हजार ८ सय ६, झापामा ४ हजार ९ सय १८, सङ्खुवासभामा १ हजार ७ सय ८ र उदयपुरमा १ हजार ३ सय ६३, पाँचथरमा ९ सय ६०, धनकुटामा ७ सय ४८ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाका निमित्त निर्देशक वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो ।

यस्तै, इलाममा ६ सय ३५, भोजपुरमा ५ सय ९८, तेह्रथुममा २ सय ४८, ओखलढुङ्गामा १ सय १६, खोटाङमा ९२, सोलुखुम्बुमा ५२ र ताप्लेजुङमा ४१ जनामा संक्रमण देखिएको बस्नेतले बताउनुभयो ।

डेंगी सङ्क्रमणबाट हालसम्म कोशी प्रदेशमा १८ जनाको मृत्यु भएकोमा सुनसरीका १३ र झापाका ५ जना रहेको निर्देशनालयका फोकल पर्सन सुरक्षा खत्रीले जानकारी दिनुभयो ।

डेंगीको संक्रमण तीव्र रूपमा फैलिएपछि कोशी प्रदेशका सबै जिल्लामा ‘खोज र नष्ट गर’ अभियान चलाउन आग्रह गरिएको स्वास्थ्य निर्देशनालय धनकुटाकी फोकल पर्सन खत्रीले जानकारी दिनुभयो । डेंगीबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न र अन्य सावधानी अपनाउन उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button