तपाईँ सुन्दै हुनुहुन्छः

‘संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव छ’

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव भएको बताउनुभएको छ ।

आज काठमाडौँमा सांस्कृतिक संस्थानको ५२औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँले समाजमा जागरणको सशक्त माध्यमका रूपमा रहेको संस्कृतिलाई पर्यटनसँग जोड्न सके समृद्धिमा योगदान पुग्ने बताउनुभयो ।

मन्त्री तामाङले संस्कृतिका माध्यमबाट सामाजिक रूपान्तरणका लागि जागरण अभियान र रोजगारसहितको आर्थिक समृद्धिका लागि संस्थानको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो ।

“नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विशेषतायुक्त देश हो । यी सबैको संरक्षण गरी अगाडि बढ्नुपर्ने आवश्यकता छ । यस कार्यमा मन्त्रालयले आवश्यक कार्य गरिरहेको छ नै, त्यसमा संस्थानको भूमिका थप महत्वपूर्ण छ । सोहीअनुसार आफ्नो दायित्व निर्वाहका लागि आग्रह गर्दछु”, मन्त्री तामाङले भन्नुभयो ।

उहाँले मन्त्रालयको संस्कृतिसम्बन्धी वकालत गर्ने प्रमुख निकाय सांस्कृतिक संस्थान भएकाले नेपाल र नेपालीको पहिचानसँग जोडिएका सांस्कृतिक सम्पदाको संरक्षणका लागि संस्थानले थप प्रभावकारी भूमिका खेल्न आवश्यक रहेकामा जोड दिनुभयो ।

विसं २०१८ सालमा राष्ट्रिय नाचघरका रूपमा स्थापित उक्त संस्था सञ्चार संस्थान ऐन, २०२८ अनुसार २०२९ साल असार ५ गते सांस्कृतिक संस्थानमा रूपान्तरण गरिएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button