तपाईँ सुन्दै हुनुहुन्छः

क्रिकेटर ऐरी ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ छैटौँ स्थानमा

काठमाडौँ । नेपालका दीपेन्द्रसिंह ऐरीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ट्वान्टी–२० अन्तर्राष्ट्रिय वरीयताको अलराउन्डरतर्फ तीन स्थान सुधार गरेका छन् ।

आइसिसीले सार्वजनिक गरेको नयाँ वरीयतामा दीपेन्द्र छैटौँ स्थानमा उक्लिएका छन् । दीपेन्द्र १९९ अङ्क प्राप्त गरे ।

यसैगरी अस्ट्रेलियाका मार्कस स्टोइनिस २३१ अङ्कका साथ शीर्ष स्थानमा उक्लिएका छन् । यसअघि शीर्ष स्थानमा रहेका अफगानिस्तानका मोहम्मद नबी भने तीन स्थान खस्किँदै चौथो स्थानमा पुगे । यसैगरी कुशल भुर्तेलले ठूलो छलाङ मारेका छन् । उनी ४३ स्थान सुधार गर्दै ६९औँ स्थानमा पुगेका छन् । 

यस्तै कुशल मल्ल ३६, कप्तान रोहितकुमार पौडेल ५६, गुल्सन झा ६७  स्थानमा छन् ।  कुशल मल्ल एक र गुल्सन ६ स्थान तल झर्दा, रोहितले ११ स्थान सुधार गरे । टिम वरीयतामा भने नेपाल १८औँ स्थानमा यथावत् छ ।

ब्याटिङ वरीयतामा आसिफ शेखले छलाङ मारेका छन् । उनी २० स्थान सुधार गर्दै ६९औँ स्थानमा पुगेका छन् । यसैगरी  रोहित ६१औँ र दीपेन्द्र ४६औँ स्थानमा छन् । रोहित ६ स्थान खस्किँदा दीपेन्द्रले पाँच स्थान सुधार गरेका हुन् । बलिङ वरीयतामा दीपेन्द्र ९६ र सोमपाल कामी ९१औँ स्थानमा छन् । दीपेन्द्रले २७ र सोमपालले आठ स्थान सुधार गरे ।

आइसिसी ट्वान्टी–२० विश्वकपमा सहभागिता जनाएर नेपाली टोली बिहीबार स्वदेश आइपुग्ने भएको छ ।

१० वर्षपछि ट्वान्टी–२० विश्वकपमा फर्किएको नेपालको प्रदर्शन भने राम्रो हुन सकेन ।  प्रतियोगितामा टोली जितविहीन बन्यो । वेस्ट इन्डिज र अमेरिकामा जारी प्रतियोगितामा नेपालले नेदरल्यान्ड्ससँग ६ विकेट, दक्षिण अफ्रिकासँग एक रन र बङ्गलादेशसँग २१ रनको पराजित ब्यहोरेको थियो । नेपालले वर्षाका कारण खेल हुन नसक्दा श्रीलङ्कासँग भने अङ्क बाँड्यो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button