तपाईँ सुन्दै हुनुहुन्छः

एक हजार आमाहरूलाई कानूनी ज्ञान सिकाउँदै मेट्रो कलेज

दाङ । तुलसीपुर मेट्रो कलेज कानुन सङ्कायले एक हजार आमाहरूलाई कानूनी ज्ञान प्रदान गर्न लागेको छ । आमा साक्षरता अभियान अन्तर्गत कलेजले तुलसीपुर उपमहानगरपालिका भित्रका सबै वडाका आमाहरूका लागि यस्तो कार्यक्रम गर्न लागेको कलेज प्रमुख वसन्त आचार्यले जानकारी दिएका छन्  ।

उहाँले आमाहरूका लागि आवश्यक पर्ने विभिन्न खालका कानूनी कुराहरू सिकाइने पनि बताएका छन् । ‘महिलाले आफ्नो अधिकारका बारेमा नजान्दा घरेलु हिंसाको सामना गरिरहनुपरेको छ त्यसैलाई रोक्नका लागि यस्तो अभियान सञ्चालन गरिएको हो’ कलेज प्रमुख आचार्यले बताउनु भयो ।

कानूनी साक्षरता अन्तर्गत न्यायिक समितिमा निरुपण हुने मुद्दा, महिला हिंसाका साथै महिला अधिकारका बारेमा संवैधानिक व्यवस्था सम्बन्धि विषयमा तालिम दिइएको अधिवक्ता विजय पोख्रेलले बताउनु भयो । उहाँले महिलाका विभिन्न कानूनी समस्याका बारेमा पनि छलफल गरिने बताउनु भएको छ।

तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडाका महिलाहरूका लागि कानुनी साक्षरता कार्यक्रम सञ्चालन गरिनेछ । ‘महिलाहरूलाई आफ्नो अधिकारका बारेमा समेत थाहा नहुँदा उनीहरू पछाडि परिरहेका छन्’ उपप्रमुख स्यानी चौधरीले बताउनु भयो । उहाँले कानूनी अज्ञानता क्षम्य नहुने भएकाले सबैले कानुनका बारेमा जानकारी लिनुपर्ने बताउनु भयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button