तपाईँ सुन्दै हुनुहुन्छः

‘जनताका आशा र अपेक्षा सम्बोधन हुने गरि नयाँ बजेट ल्याइएको छ’

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले विकासमा जनताका आशा र अपेक्षा सम्बोधन हुने गरि नयाँ बजेट ल्याएको जनाएको छ ।

धनगढीस्थित आर्थिक मामिला मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारका आर्थिक मामिला मन्त्री सुरेन्द्र बहादुर पालले यसपालिको बजेट सहज रुपमा कार्यान्वयनमा आउने बताउनुभयो ।

प्रदेश सरकारले नयाँ ढङ्गबाट काम गर्न खोजेको बताउँदै मन्त्री पालले बजेट साउन महिनामै कार्यान्वयन लैजाने तयारीमा सरकार लागिपरेको जानकारी दिनुभयो ।

उहाँले साउनमा खरिद प्रक्रिया अघि बढाएर असोज मसान्तभित्र सम्पूर्ण टेण्डर कार्य पूरा भई चैतसम्म विकास योजना सम्पन्न भई सक्नेगरी बजेट कार्यान्वयनमा लैजाने तयारी भइरहेको बताउनुभयो । सञ्चारकर्मीको जिज्ञासामा मन्त्री पालले बजेट निर्माणमा बिचौलिया हाबी हुने प्रवृत्तिलाई निरुत्साहित पारिएको बताउनुभयो ।

सरकारले कृषि, शिक्षा, स्वास्थ्य, खानेपानी, सिँचाई, पूर्वाधार विकास, रोजगार, पर्यटन लगायतका क्षेत्रलाई बजेटको प्राथमिकतामा राखेको उल्लेख गर्दै मन्त्री पालले प्रदेशका नौ वटै जिल्लामा उद्योग स्थापना, विशेष कृषि कार्यक्रम, नमुना विद्यालय सञ्चालनका लागि बजेटको व्यवस्था गरिएको बताउनुभयो ।

प्रदेश सरकारले आगामी आर्थिक बर्ष २०८१/८२ का लागि कुल ३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार बराबरको बजेट ल्याएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button