तपाईँ सुन्दै हुनुहुन्छः

कर्णाली प्रदेश सरकारद्वारा ‘गर्मीसे बेहाल चलो राराताल’ भन्ने अभियान सुरु

बाँके । कर्णाली प्रदेश सरकारले ‘गर्मीसे बेहाल चलो राराताल’ भन्ने अभियान सुरु गरेको छ । 

कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयले नेपाल फोटो पत्रकार महासङ्घसँगको सहकार्यमा भारतीय पत्रकार र पर्यटन व्यवसायीलाई सुर्खेत, दैलेख, कालिकोट हुँदै रारा तालसम्म पुर्‍याएर भारतीय पर्यटकहरूलाई आकर्षित गर्ने कार्यक्रम लागु गरेको छ । 

भारतका नौ जना पत्रकार र पर्यटन व्यवसायीहरूलाई आज आइतबार जमुनाहा नाकामा कर्णाली प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन शाखाका प्रमुख राम बहादुर बुढा लगायतले स्वागत गर्नु भएको थियो । भारतीय पर्यटकहरू स्वागत पश्चात् सुर्खेत प्रस्थान गरेको जानकारी दिनु भयो । 

राराताल लगायतका पर्यटकीय स्थलहरूको अवलोकन भ्रमणका लागि फोटो पत्रकार महासङ्घको निमन्त्रणामा आउनु भएका भारतीय पत्रकार र पर्यटन व्यवसायीलाई नेपाल भारत नाकाको जमुनाहामा कर्णाली प्रदेश सरकारको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको पर्यटन शाखाका प्रमुख बुढा, पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठ, फोटो पत्रकार महासङ्घका केन्द्रिय अध्यक्ष हरिप्रसाद रेग्मी, वरिष्ठ उपाध्यक्ष सागर श्रेष्ठ, वरिष्ठ सचिव हरिहरसिंह राठौर र कर्णालीका पर्यटन व्यवसायी मनराज सिम्खडा लगायतले स्वागत गर्नु भएको थियो । 

पर्यटन शाखाका प्रमुख बुढाले कर्णालीका पर्यटकीय स्थलहरूको प्रचार प्रसारका लागि भारतीय र नेपाली पत्रकार तथा पर्यटन व्यवसायीलाई राराताल लगेर राराको अवलोकनका साथै अन्तरक्रिया समेत गरिने बताउनुभयो ।

अत्यधिक गर्मीका कारण जनजीवन बेहाल भइरहेका बेला राराताल लगायतको प्रचार प्रसार गरी भारतीय पर्यटक आकर्षित गर्न सकिने बुढाको भनाई थियो । भारतीय पत्रकार शादाब हुसैनले यो भ्रमणले नेपालमा भारतीय पर्यटकको आवागमनमा वृद्धि हुने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button