तपाईँ सुन्दै हुनुहुन्छः

चीनको रोङ्स्यामा नेपालीका लागि बजार खुलाउने तयारी

दोलखा । चीनको तिब्बत अन्तर्गतको स्थानीय सरकारले टिङ्रिङ जिल्लाको रोङ्स्यामा दोलखाको सिमाना गाउँ लामाबगर र लप्ची बासीका लागि बजार खुलाउने तयारी गरेको छ ।

भर्खरै चीन सरकारले नेपालसँगको १४ नाका खुला गरेको छ । त्यसमा दोलखाको लामाबगर नजिकको फलाक नाका पनि रहेको छ । नाका खुलेपछि टिङ्रिङ जिल्लाको निमन्त्रणामा दोलखाको विगु गाउँपालिका वडा नम्बर– १ का वडा अध्यक्ष मेम बहादुर तामाङ नेतृत्वमा पालिकाका प्रवक्ता लोक बहादुर नेपाली, वडा नम्बर– ६ का वडा अध्यक्ष टहल थामी र नेपाली कांग्रेसका प्रतिनिधि हेम बहादुर तामाङ सहितको टोली रोङ्स्या पुगेको थियो ।

तिब्बतको रोङ्स्या गाविसले विशेष गरी दोलखाको लामाबगर र लप्चीका स्थानीयलाई आवश्यक सामान किनमेल तथा आफ्नो उत्पादन बिक्री– वितरण गर्न सहज होस भनेर रोङ्स्यामा बजार खुलाउन लागेको विगु गाउँपालिका वडा नम्बर– १ का वडा अध्यक्ष मेम बहादुर तामाङले बताउनुभयो ।

‘रोङ्स्या तिब्बतको एउटा गाविस हो’ वडा अध्यक्ष मेम बहादुरले भन्नुभयो ‘तर त्यो गाँउमा धेरै सुविधा छ ।’

लामाबगरबाट बिहान हिँड्दा चीनको रोङ्स्या पुगेर किनमेल गरी साँझ घर फर्कन सकिने स्थानीयको भनाई छ । लामाबगर र लप्चीका स्थानीयले रोङ्स्याबाट चामल, चिउरा, चाउचाउ, चकलेट लगायतका सामान ल्याउने र यताबाट चौँरी, उन, चौँरीको घिउ, छुर्पी, कोदो, मकै लगायतका स्थानीय उत्पादन बिक्रीको लागि लानसक्ने स्थानीयहरू बताउँछन् ।

चीन सरकारले नाका खुला गरेपछि जिल्ला प्रशासन कार्यालय दोलखाले लप्ची र लामाबगरका स्थानीयको लागि किनमेल तथा आफ्नो उत्पादन उता लगेर बिक्री गर्न सहज होस भनेर आवश्यकताको आधारमा पास वितरण गरेको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिनुभयो । अहिलेसम्म लप्चीका ३९ जना र लामाबगरका ५ जनाले सिमापास लिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button