तपाईँ सुन्दै हुनुहुन्छः

विद्यार्थीका लागि शोध तथा अनुसन्धानमूलक कार्यशाला

भोजपुर ।  त्रिभुवन बिश्वबिद्यालयको आङ्गिक क्याम्पस भोजपुर बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुका लागि शोध तथा अनुसन्धानमूलक कार्यशाला सुरु भएको छ । 

विभिन्न तहमा अध्ययनरत क्याम्पसका बिद्यार्थीहरुका लागि भोजपुर नगरपालिकाको सहयोगमा सामाजिक बिकास तथा अनुसन्धान केन्द्र भोजपुरले बुधवारबाट दुई दिने कार्यशाला सुरु गरेको हो । केन्द्रका अध्यक्ष सुरेन्द्र कार्कीको अध्यक्षतामा आयोजित कार्यशालाको उद्घाटन भोजपुर नगरपालिकाका नगर प्रमुख कैलाश कुमार आलेले गर्नुभयो । नगर प्रमुख आलेले कार्यशालाले शोध तथा अनुसन्धानको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै समयानुकूल अगाडी बढ्न बिद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।  

भोजपुर बहुमुखी क्याम्पसका सहप्राध्यापक डा. पर्वत कुमार राईले गत बर्षबाट जिल्लामा पनि अनुसन्धान मूलक कार्यक्रमहरूको सुरुवात भएको बताउँदै अनुसन्धान गर्ने संस्कृतिको बिकास हुन जरुरी रहेको बताउनुभयो । समाज र राष्ट्रको परिवर्तनका लागि पनि अनुसन्धान जरुरी रहेको सहप्राध्यापक डा. राईको भनाई रहेको छ । 

कार्यक्रममा आफ्नो धारणा राख्नुहुँदै भोजपुर नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ढुङ्गेल, नागरिक समाजका संयोजक पर्शुराम तिवारी, मानव अधिकार सङ्गठनका पदम बहादुर कार्की लगायतले आर्थिक तथा सामाजिक अनुसन्धानहरू पनि हुन जरुरी रहेको बताउँदै शोध तथा अनुसन्धानमा बिद्यार्थीहरुले पनि त्यस्ता विषयहरू खोज्न जरुरी रहेको बताउनु भएको थियो । 

बिहीबारसम्म सञ्चालन हुने कार्यशालामा शोध तथा अनुसन्धान लेखनका विषयमा बिद्यार्थीहरुलाई विषय विज्ञहरू क्याम्पसका सहप्राध्यापक डा. पर्वत कुमार राई, उपप्राध्यापक प्रकाश राई, उपप्राध्यापक उत्तम सिंह राई लगायतले सहजीकरण गर्नु हुने आयोजक संस्थाका सचिव हरि ढकालले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button