तपाईँ सुन्दै हुनुहुन्छः

रारा कप कबड्डी प्रतियोगिताको उपाधि सुर्खेतलाई

मुगु । कर्णाली प्रदेश खेलकुद विकास परिषद्को आर्थिक सहयोग र मुगु जिल्ला खेलकुद विकास समितिको आयोजनामा पहिलो पटक आयोजित कर्णाली प्रदेश स्तरीय रारा कप खुल्ला महिला तथा पुरुष कबड्डी प्रतियोगिताको उपाधि सुर्खेतले जितेको छ ।

पुरुषतर्फ दैलेखलाई हराउँदै सुर्खेतले उपाधि हात पारेको हो । महिलातर्फ पनि सल्यानलाई हराउँदै सुर्खेतले उपाधि जित्यो । प्रतियोगितामा पुरुषतर्फ सुर्खेतले ४७ अङ्क प्राप्त गर्दा दैलेखले २९ मात्र बनाउन सक्यो । महिलातर्फ सुर्खेतले २९ अङ्क प्राप्त गर्दा सल्यानले २७ अङ्क मात्र प्राप्त गरेको जिल्ला खेलकुद विकास समिति मुगुका अध्यक्ष वीरेन्द्र बहादुर मल्लले जानकारी दिनुभयो ।

नकआउट विधिबाट खेलाइएको खेलमा पुरुषतर्फ तृतीय जाजरकोट र सल्यान भए भने महिलातर्फ जाजरकोट र कालिकोट तृतीय भएको आयोजक समितिले बताएको छ ।

प्रतियोगितामा कर्णाली प्रदेशका पुरुष टिमतर्फ हुम्लाबाहेक ९ जिल्लाको सहभागिता रहेको थियो महिला टिमतर्फ डोल्पा, हुम्ला र रुकुमपश्चिम बाहेकका अन्य ७ जिल्लाको सहभागिता रहेको थियो ।

बुधवारबाट सुरु भएको प्रतियोगिता तीन दिनसम्म चलेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button