तपाईँ सुन्दै हुनुहुन्छः

भीमनारायण गोल्डकप : दोस्रो सेमिफाइनलमा आयोजक र विर्तामोड भिड्दै

धनकुटा । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १६ औँ संस्करणमा शुक्रबार दोस्रो सेमिफाइनलका खेल हुँदैछ। शुक्रबार हुने दोस्रो सेमिफाइनलको खेलमा आयोजक भीमनारायण स्मृति प्रतिष्ठान र विर्तामोड युनाइटेड क्लब झापाबिच प्रतिस्पर्धा हुनेछ। धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ३ बजेपछि सो खेल सुरु हुनेछ।

 सिराहाको सलहेश युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै आयोजक भीमनारायण स्मृति प्रतिष्ठान सेमिफाइनलमा पुगेको हो। यस्तै विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौँलाई १–० गोल अन्तरले हराउँदै विर्तामोड युनाइटेड क्लब झापा अन्तिम चारमा पुग्न सफल भएको हो। यो खेलको विजेताले फाइनलमा शनिबार विभागीय टिम सशस्त्र प्रहरीको एपीएफ क्लब काठमाडौँसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। एपीएफ क्लब पहिलो सेमिफाइनलमा बिहीबार सुनसरीको जागृति क्लबलाई ट्राई बेकरमा ३–२ गोल अन्तरले हराउँदै फाइनलमा पुगेको हो। 

पहिलो सेमिफाइनलको निर्धारित समयमा कुनै गोल नभएपछि खेल ट्राई बेकरमा धकेलिएको थियो। ट्राई बेकरमा एपीएफका सविन गुरुङ, सुमन श्रेष्ठ र युवराज खड्काले गोल गर्नुभयो भने राष्ट्रिय जागृति फुटबल क्लबका लागि उमेश राई र कुलदिप कार्कीले गोल गर्नुभयो। यस्तै जागृतिका सुमित चौधरी, प्रवेश दनुवार र मिलन राईको प्रहार एपीएफका गोल किपर एञ्जल श्रेष्ठले बचाउनु भएको थियो। यस्तै एपीएफका रिपेश धिमाल र विश्वास उदासको प्रहार जागृतिका गोल रक्षक विनय श्रेष्ठले बचाउनु भएको थियो। 

दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयो।

२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ।  तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ। श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरिसकेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button