तपाईँ सुन्दै हुनुहुन्छः

भरतपुर महानगरद्वारा विपन्न परिवारलाई बंगुरका पाठा वितरण 

चितवन । भरतपुर महानगरपालिकाले निर्वाहमुखी पशुपालन कार्यक्रमलाई तीव्र पारेको छ । सोही अनुसार महानगरपालिका विपन्न परिवारलाई लक्षित गरी बंगुरका पाठा वितरण गरेको हो । २०८० सालदेखि सुरु निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्ने अभियान यो वर्ष पनि निरन्तरता दिएको मेयर रेनु दाहालले जानकारी दिनुभयो ।

अभियानकै क्रममा बिहीबार पनि भरतपुर महानगरपालिका–२८ का जागृति कोशिस कृषक महिला समूहका २० जनालाई बङ्गुरका पाठा वितरण गरिएको हो । निर्वाहमुखी कृषिकर्म गरिरहेका कृषकलाई प्रोत्साहन गर्न ८४ वटा पाठा वितरण गरिएको हो । जसमध्ये ४ वटा बङ्गुरको भाले पाठा वितरण गरिएको छ ।

प्रमुख  दाहालले बाख्रा वितरण गर्दै निम्न आयस्तर भएका नागरिकको जीवनस्तर सुधार्न युवा लक्षित कार्यक्रम सञ्चालनमा ल्याएको बताउनु भयो  । यो कार्यक्रममार्फत बाख्रा, बङ्गुर कुखुरा र हाँस वितरण गरिनेछ ।

भरतपुर महानगरपालिका वडा नम्बर २८ का अध्यक्ष दण्डपाणि रिजालले कृषिको व्यवसायीकरणको क्रममा ठूला कृषक समेटिने तर निम्न आय भएका कृषक नसमेटिने भएकाले बङ्गुर वितरण गरिएको बताउनु भयो  । उहाँले बङ्गुरलाई ५ गुणाले वृद्धि गर्न सुझाव पनि दिनुभयो ।

बंगुरको पाठा पाएपछि समूहकी सदस्य मिना बोटेले महानगरले बङ्गुर दिएर व्यवसायीक कृषक बनाउनतर्फ अग्रसर गरेकोमा खुसी व्यक्त गर्नुभयो  । निर्वाहमुखी कृषि कर्म गर्ने कृषकलाई महानगरको यो सहयोगले जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास गर्नुभयो  ।

आगामी दिनमा पनि महानगरले यस्ता कार्यक्रम ल्याएर अति विपन्न परिवारलाई जीविकोपार्जन गर्न प्रोत्साहन गर्नुपर्ने उहाँको भनाइ छ । बंगुरका पाठा पाउनेहरू बोटे र दलित समुदायका रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button