तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपति यादव र नर्वेका राजदूत ड्रामडलबीच शिष्टाचार भेट

काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि नर्वेका राजदूत तोरुन ड्रामडलले लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार शिष्टाचार भेट गर्नुभएको छ । 

भेटमा शुभकामना शुभकामना आदानप्रदान पश्चात् दुई मुलुकबीचको द्विपक्षीय सम्बन्ध, लोकतन्त्र, मानव अधिकार र सामाजिक न्यायलगायतका विषयमा छलफल भयो । उपराष्ट्रपति यादवले नर्वे नेपालको घनिष्ठ मित्रराष्ट्र भएको उल्लेख गर्दै सन् १९७३ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपाल र नर्वेबीचको सम्बन्ध मैत्रीपूर्ण तथा सौहार्द्रपूर्ण रही आएको बताउनुभयो । 

‘लोकतन्त्र, मानवअधिकार र सामाजिक न्याय हाम्रा दुई देशका साझा मूल्य र मान्यताहरू हुन्’ उहाँले भन्नुभयो, ‘उच्चस्तरीय राजनीतिक नेतृत्व तथा कूटनीतिक तहमा भ्रमणको आदानप्रदान तथा संवाद, विकास सहयोग, जनस्तरको सम्बन्ध, लगानी तथा व्यापार, पर्यटन आदि नेपाल–नर्वे सम्बन्धका आधारस्तम्भ हुन् । आपसी हितका लागि यी क्षेत्रहरूमा थप सहकार्य गर्नु आजको आवश्यकता हो ।’

उपराष्ट्रपति यादवले विकास साझेदारको रुपमा नेपालले नर्वेसँगको सम्बन्धलाई उच्च प्राथमिकता दिएको बताउनु भयो । ‘नर्वे सरकारले विशेष गरी नवीकरणीय ऊर्जा, शिक्षा तथा सुशासनको क्षेत्रमा गरेका कामहरू नेपालका लागि उपयोगी छन्’ उहाँले भन्नुभयो, ‘ दिगो शान्ति, स्थायित्व, आर्थिक विकासका लागि हाम्रो अभियान जारी छ । नेपालको विकासको पथमा मित्र राष्ट्र नर्वेको निरन्तर साथ र सहयोग रहनेछ भन्नेमा हामी आशावादी छौँ ।’

उहाँले आपसी हितका विषयहरूमा दुईपक्षीय र बहुपक्षीय मञ्चहरूमा हाम्रो सहकार्य निरन्तर कायम रहने विश्वास व्यक्त गर्नुभयो । ‘आगामी दिनहरूमा नेपाल–नर्वे द्विपक्षीय सम्बन्धका नयाँ आयामहरू थपिँदै जाने र हाम्रो सम्बन्ध अझ सुदृढ हुँदै जाने अपेक्षा हामीले गरेका छौ’ उहाँले भन्नुभयो । 

नेपालका लागि नर्वेका महामहिम राजदूत तोरुन ड्रामडलले नेपाल र नर्वेबीच धेरैको कुरामा समानता रहेको उल्लेख गर्दै यहाँ जसरी नै नर्वेमा पनि तीन तहको सरकार रहेको बताउनु भयो । उहाँले नर्वेले हाइड्रोपावर, विद्युत् प्रसारणलगायतका क्षेत्रमा सहयोग गर्दै आएको जनाउँदै नेपालको आर्थिक विकासमा टेवा पुर्‍याउने उद्देश्यले नर्वेको नीजि लगानीकर्ताहरूलाई नेपाल भित्र्याउने आफू  प्रयासरत रहेको समेत बताउनु भयो ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button