तपाईँ सुन्दै हुनुहुन्छः

खेलकुद क्षेत्रको संरचना महिलामैत्री बनाइने : खेलकुद मन्त्री श्रेष्ठ

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले नेपालको खेलकुद पूर्वाधारलाई महिलामैत्री बनाइने बताउनुभएको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री श्रेष्ठले खेलकुदमा युवा महिलाको आकर्षण बढ्नु गौरबको विषय भएको उल्लेख गर्नुहुँदै खेल क्षेत्रमा  लैङ्गिक रुपमा हुने विभेद हटाउन सरकारले प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

नेपालमा खेल पर्यटनलाई बढवा दिन प्राकृतिक पूर्वाधारको यथेष्ट प्रयोग गर्ने गरी आगामी योजना बनाइने बताउँदै मन्त्री श्रेष्ठले युवा र राष्ट्रलाई जोड्ने लोकप्रिय कार्यक्रमलाई आगामी बजेट मार्फत् सुनिश्चित गरिने बताउनुभयो । 

नेपालको रङ्गशालामा अन्तर्राष्ट्रिय मापदण्डका खेल खेलाउन कठिनाई भएकाले रङ्गशालामा गैर खेलकुदका कार्यक्रम गर्न रोक लगाइएको जानकारी दिनुभयो । 

नेपालको खेल क्षेत्रलाई मर्यादित बनाउन खेलकुद ऐन संशोधनको प्रक्रियामा रहेको पनि मन्त्री  श्रेष्ठले बैठकलाई जानकारी गराउनुभयो । 

बैठकमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले नेपालमा खेलकुदलाई उद्यमका रुपमा विकसित गरिनुपर्नेमा जोड दिनुभयो । 

बैठकमा सांसदहरुले अन्तर्राष्ट्रिय ख्याति कमाएका खेलाडीहरूमा समेत नैतिक आचरण नदेखिएको  भन्दै खेल क्षेत्रलाई व्यवस्थित बनाउन संस्कार पनि सिकाउनुपर्नेमा जोड दिनुभयो । 

सांसदहरुले युवाहरूमा निराशा बढेको भन्दै सरकारले पलायन हुन लागेका युवालाई लक्षित गरेर नीति तथा कार्यक्रम बनाउनुपर्ने बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button