तपाईँ सुन्दै हुनुहुन्छः

असिना पानीले हिउँदे बाली नष्ट, मार्तडी-कोल्टी सडक अवरुद्ध

 

बाजुरा । बाजुराको उत्तरी क्षेत्र स्थित बुढिनन्दा नगरपालिकामा असिना पानीले पाक्नै लागेको हिउँदे बालीमा ठुलो क्षति गरेको छ । मङ्गलवार बेलुकादेखि परेको असिना पानीले पाक्नै लागेको गहुँ, जौ बालीनालीसहित तरकारीमा क्षति गरेको हो ।

बुढिनन्दा नगरपालिकाका वडा नम्बर ‐१, २, ३, र ७ मा खेतबारीमा पाकेको गहुँबाली  नष्ट गरेको बुढिनन्दा नगरपालिकाका उपप्रमुख रामबहादुर बोहोराले बताउनु भयो।

करिब चार घण्टा सम्म निरन्तर आएको असिना पानीले अन्नबालीका साथै फलफूल र तरकारी खेतीमा ठुलो क्षति पुर्‍याएको बोहोराले  बताउनु भएको छ ।

असिना पानी सँगै आएको बाढीले बुढिनन्दा नगरपालिका वडा नम्बर-३ मा स्थानीयका ११ भेडा मरेका छन् भने ९ भेडा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

त्यस्तै असिना पानी सङ्गैको बाढीका कारण मार्तडी कोल्टी सडक खण्ड अवरुद्ध भएको छ । मार्तडी कोल्टी सडकखण्ड अन्तर्गत पर्ने बुढिनन्दा नगरपालिका-१० पाण्डु सैन क्षेत्रको ५ किलोमिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक किशोरसिंह ऐरीले बताउनु भयो।

सदरमुकाम मार्तडीबाट जिल्लाको उत्तरी भेग जोड्ने सडकखण्ड अवरुद्ध भएपछि यातायात सेवा ठप्प भएको प्रहरीले जनाएको छ ।असिना पानी सँगै आएको बाढीले बुढिनन्दा नगरपालिकाका करिब एक दर्जन विद्यालयका भौतिक संरचनामा समेत क्षति पुर्याएको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button