तपाईँ सुन्दै हुनुहुन्छः

भीमनारायण गोल्डकप: आजबाट सेमिफाइनलका खेल हुँदै

धनकुटा । धनकुटामा जारी सहिद भीमनारायण गोल्डकप फुटबल प्रतियोगिताको १६ औँ संस्करणमा बिहीबारबाट सेमिफाइनलका खेल सुरु हुँदै छन्। बिहीबार हुने पहिलो सेमिफाइनलको खेलमा विभागीय टिम सशस्त्र प्रहरी बलको एपीएफ क्लब काठमाडौँ र राष्ट्रिय जागृति फुटबल क्लब सुनसरीबिच प्रतिस्पर्धा हुनेछ। धनकुटाको तल्लो टुँडिखेलमा दिउँसो ३ बजेपछि सो खेल सुरु हुनेछ। मोरङको चार तारे युथ क्लबलाई १–० गोल अन्तरले हराउँदै एपीएफ सेमिफाइनलमा पुगेको हो। यस्तै बुटवल लुम्बिनी फुटबल क्लब बुटवललाई ट्राई बेकरमा ५–४ गोल अन्तरले हराउँदै राष्ट्रिय जागृति फुटबल क्लब अन्तिम चारमा पुग्न सफल भएको हो। शुक्रबार हुने दोस्रो सेमिफाइनलमा विर्तामोड युनाइटेड क्लब झापा र आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान बीच प्रतिस्पर्धा हुनेछ। विभागीय टिम त्रिभुवन आर्मी क्लब काठमाडौँलाई १–० गोल अन्तरले हराउँदै विर्तामोड युनाइटेड क्लब सेमिफाइनलमा पुगेको हो। यस्तै सल्हेस युथ क्लब सिराहालाई १–० गोल अन्तरले हराउँदै आयोजक सहिद भीमनारायण स्मृति प्रतिष्ठान अन्तिम चारमा पुग्न सफल भएको हो।

दुवै सेमिफाइनलका विजेताबिच भीमनारायण गोल्डकपको १६ औँ संस्करणको फाइनल खेल आगामी शनिबार हुने आयोजक समितिका संयोजक शम्भु प्रधानले जानकारी दिनुभयो। दर्शकको लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्नेछन्। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्ने आयोजकले जनाएको छ।

२०५५ सालमा शुरु प्रतियोगिता केही वर्षको स्थगनपछि २०६३ सालदेखि नियमित सञ्चालन हुँदै आएको छ।  तत्कालीन राजा वीरेन्द्र शाहलाई बम प्रहार गरेको आरोपमा २०३५ सालमा मृत्युदण्ड दिइएका सहिद भीमनारायण श्रेष्ठको स्मृतिमा प्रतियोगिता सञ्चालन हुँदै आएको छ। श्रेष्ठलाई सरकारले २०७४ सालमा शहीद घोषणा गरिसकेको छ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button