तपाईँ सुन्दै हुनुहुन्छः

नरैनापुरमा १०१ औलोका बिरामी भेटिए, ४३ सय जनालाई कीटनाशक झुल वितरण

बाँके । बाँकेको नरैनापुर गाउँपालिकामा औलो रोगको संक्रमण फैलिए पछि पालिकाले उच्च सतर्कता अपनाएको छ । गत आर्थिक वर्षमा १०२ जनामा औलो रोग पुष्टि भएको थियो भने चालु आर्थिक वर्षको साउनदेखि वैशाख सम्म नरैनापुरमा १०१ औलोका बिरामी भेटिएको गाउँपालिकाका स्वास्थ्य संयोजक नगेन्द्र कुमार शाहले बताउनु भयो ।

नरैनापुर क्षेत्रमा महिनौँदेखि औलोका बिरामी थपिँदै गएकाले पालिकाको समन्वयमा रगत परीक्षण, कीटनाशक झुल वितरण र सचेतनामूलक अभियान सञ्चालन गरिएको जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगत बहादुर शाहीले जानकारी दिनु भयो ।

जनस्वास्थ्य प्रमुख शाहीका अनुसार पालिकाको सबै भन्दा उच्च जोखिममा रहेको वडा नं नं. ३ मा ४३ सय घर परिवारलाई कीटनाशक झुल वितरण गरिएको बताउनु भयो । 

रोग नियन्त्रण तथा व्यवस्थापनका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको सहयोगमा स्वास्थ्य कार्यालय र स्थानीय तहको संयुक्त पहलमा कीटनाशक झुल वितरण र जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको नरैनापुरका प्रमुख प्रशासकीय अधिकृत जनक लाल चौधरीले बताउनु भयो ।

चालु आव २०८०/०८१ को साउनदेखि माघसम्म नेपालगञ्ज उपमहानगरपालिका, डुडुवामा र राप्तीसोनारी गाउँपालिकामा पाँच ÷पाँच जना, बैजनाथ गाउँपालिकामा एक जनामा औलोका बिरामी भेटिएको फोकल पर्सन दुर्गा गौतमले बताउनु भयो । कोहलपुर नगरपालिका, खजुरा र जानकी गाउँपालिकामा औलोका बिरामी नरहेको जनस्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

नरैनापुर गाउँपालिका अध्यक्ष इश्तियाक अहमद शाहले भन्नुभयो, ‘पालिकाका केही वडामा औलो रोग भेटिएको छ, हामीले थाहा पाउनै बित्तिकै स्वास्थ्यकर्मी परिचालन गरी व्यवस्थापन गरिरहेका छौँ, उक्त रोगविरुद्ध हामी उच्च सतर्कता अपनाएका छौँ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button