तपाईँ सुन्दै हुनुहुन्छः

बागमती प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य

मकवानपुर । बागमती प्रदेश सभाको चालु (हिउँदे) अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य भएको छ ।

बागमती प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले बुधबार राति १२ बजेबाट लागू हुने गरी अधिवेशन अन्त्य भएको घोषणा गर्नुभएको हो ।

बुधबार दिउँसो बसेको मन्त्रीपरिषद् बैठकले चालु अधिवेशन अन्त्य गर्न सिफारिस गरेको थियो । प्रदेशसभाको अधिवेशन प्रदेश सरकार मन्त्रिपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुखबाट आह्वान र अन्त्य गर्ने संवैधानिक व्यवस्था छ । सोही अनुसार प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा २ अनुसार प्रदेशसभा बैठक अन्त्य भएको घोषणा गर्नुभएको हो ।

चालु हिउँदे अधिवेशन अन्त्य भएसँगै प्रदेश सरकार आगामी आव २०८१/८२ को प्री–बजेट छलफल र आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउन वर्षे अधिवेशन आह्वान गर्ने तयारीमा लाग्ने प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

२०८० फागुन १५ गतेबाट सुरु भएको चालु हिउँदे अधिवेशन अन्तर्गत ५ दिनमा ५ घण्टा ११ मिनेटमा ६ वटा बैठक चलेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । अधिवेशनबाट हस्तकला ग्राम स्थापना तथा सञ्चालन गर्न बनेको विधेयकमाथि सैद्धान्तिक छलफल भएर समितिमा पठाइएको, बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समिति गठन, हस्तकला ग्राम विधेयक पेस तथा विधेयकमाथि सैद्धान्तिक छलफल, विशेष समितिको प्रतिवेदन पेस र प्रतिवेदन पारित गरेको थियो । हिउँदे अधिवेशनको अन्तिम बैठकबाट मुख्यमन्त्री शालिकराम जम्कट्टेलले तेस्रो पटक विश्वासको मत लिनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button