तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्री कृषि आधुनिकीकरण : उत्पादन वृद्धि, रोजगारी सिर्जना

जनकपुरधाम । कृषि क्षेत्रको वैज्ञानिक विकासका लागि मुलुकको ७७ जिल्लामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाबाट उत्पादन वृद्धि हुनुका साथै थप रोजगारी सृजना गरिरहेको छ ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्रदेश समन्वय इकाई धनुषाको आयोजनामा आज जनकपुरधाममा सम्पन्न भएको प्रदेश स्तरीय तेस्रो त्रैमासिक तथा ९ महिने आवधिक प्रगति समीक्षा कार्यक्रममा परियोजनाबाट मधेश प्रदेशमा धान, गहुँ, मकै, तरकारी तथा माछाको उत्पादनमा वृद्धि भएको समन्वय इकाईका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत ललन कुमार सिंहले जानकारी दिनुभयो । उक्त अवधिमा स्थायी, अस्थायी तथा मौसमी गरी २४ हजार ४ सय ९८ जनालाई रोजगारी प्राप्त भएको छ ।

धानको राष्ट्रिय उत्पादन प्रति हेक्टर ३.८१ प्रतिशतले वृद्धि रहेकोमा धान जोन लागु भएका क्षेत्रमा ४.४९ प्रतिशत वृद्धि भएको छ । मकैको उत्पादन वृद्धि राष्ट्रिय स्तरमा ३.०६ प्रतिशत वृद्धि रहेकोमा कार्यक्रम लागु भएका क्षेत्रमा ७.७४ प्रतिशत रहेको प्रमुख सिंहले जानकारी दिनुभयो ।

तरकारीको उत्पादन वृद्धि राष्ट्रिय स्तरमा १४.०५ प्रतिशत रहेकोमा तरकारी जोन लागु भएका ठाउँमा १९ प्रतिशतले वृद्धि रहेको छ । माछा सुपर जोन, आँप जोन, केला जोन, दूध विकास कार्यक्रमबाट पनि प्रदेशका जिल्लामा उत्पादन वृद्धि भएको जानकारी कार्यक्रम मार्फत् दिइयो ।

कृषि क्षेत्रमा आधुनिकीकरण, विशिष्टीकरण तथा औद्योगीकरण हुनमा पनि परियोजनाले मद्दत गरिरहेको परियोजनाका निर्देशक विनोद भट्टराइले बताउनुभयो ।

९ महिनामा ५० प्रतिशत भौतिक प्रगति भएको र बाँकी तीन महिना पनि कामले गति लिने विश्वास परियोजना समन्वय कार्यालय धनुषाका कृषि अधिकृत राकेश कुमार यादवले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button