तपाईँ सुन्दै हुनुहुन्छः

आगलागी पीडितको घर निर्माणका लागि गाउँपालिकाले राहत दिने

गुल्मी । गुल्मीको इस्मा गाउँपालिकाले अग्नि पीडितको घर निर्माणको लागि प्रतिघर एक लाख रुपैयाँ तत्काल उपलब्ध गराउने भएको छ । वैशाख १२ गते बसेको गाउँ कार्यपालिकाको बैठकले पालिकाभित्र पूर्णरुपमा क्षति पुगेका घरपरिवारलाई तत्काल एक-एक लाख दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले जानकारी दिनुभयो । 

आगलागीबाट पालिकाभित्रका २६ वटा घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् भने ४९ गोठ जलेर पूर्ण नष्ट भएका छन् । घर आगलागीबाट एक सय ९९ नागरिक प्रभावित भएका छन् । बर्खा यामको आइपुग्न थालेकाले अग्नि पीडित परिवारलाई घर निर्माणको लागि प्रतिपरिवार एक लाख सहयोग गर्न लागिएको गाउँपालिका अध्यक्ष खड्काले बताउनुभयो ।

अग्नि पीडित परिवारको घर निर्माणको कार्य तत्काल सुरु गरेर अन्य ठाउँबाट समेत स्रोत जुटाउन सबैको प्रयत्न जारी रहेको अध्यक्ष खड्काले बताउनुभयो ।  

गाउँपालिकाले जनप्रतिनिधि र कर्मचारीबाट मासिक तलबको ५ प्रतिशत रकम पीडितलाई राहत कोषमा उपलब्ध गराउने निर्णय समेत गरेको छ । जनप्रतिनिधिबाट पाँच लाख छ हजार र कर्मचारीको एक लाख ५७ हजार गरेर कुल छ लाख ८३ हजार हुने इस्मा गाउँपालिकाले जनाएको छ । 

अग्नी पीडितका लागि जिल्ला विपद् व्यवस्थापन समिति मार्फत पूर्ण क्षति भएका प्रत्येक घरपरिवारलाई तत्काल राहत स्वरूप प्रति घर २० हजार रकम प्रदान गरिएको छ भने यतिबेला सरकारी तथा गैरसरकारी सङ्घसंस्थाले जिन्सी र नगद उपलब्ध गराइरहेका छन् । उनले राहत र उद्धारका काम तीव्र पारिएकाले जस्तापाता सहयोग र नगद रकम राहत कोषमा उपलब्ध गराउन अनुरोध समेत गरेका छन् । 

अग्निपीडित परिवारले मौसमजन्य विपद् अन्तर्गत संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा चार लाख रुपैयाँ र गाउँपालिकाको एक लाख गरी प्रतिघर परिवारले पाँच लाख रुपैयाँ पाउनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button