तपाईँ सुन्दै हुनुहुन्छः

आगलागीले क्षतिग्रस्त क्षेत्रमा राहत र उद्धारका लागि जुटे सङ्घसंस्था

गुल्मी । गुल्मी जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–२ सिदुङखा र हाडीखोलामा राहत र उद्धारको लागि विभिन्न निकाय सक्रिय भएका हुन् । आगलागीले क्षतिग्रस्त बनेको स्थलमा राहत र उद्धारमा जुटेका हुन् । आगलागी पीडित नागरिकहरूको घाउमा मलम लगाउने उद्देश्यले जिल्लाका विभिन्न सङ्घसंस्था सक्रिय भएका छन् ।

जिल्लामा पछिल्लो समय आगलागीका कारण विभिन्न ठाउँमा ठूलो क्षति पुगेको छ ।  शनिबार स्थानीय सामुदायिक बनमा लागेको आगो एक्कासी बस्तीमा पस्दा आगलागीबाटै सिदुङखामा ११ वटा र हाडीखोलामा ६ वटा गरि १७ वटा घर जलेर नष्ट भएका छन् । 

आगलागीमा १९ वटा बङ्गाला, २३ वटा बाख्रा, ७ वटा भैँसी, १ वटा पाडो, २ वटा कुटानी पिसानी मिल, २ वटा किराना पसल जलेर नष्ट भएका हुन् । आगलागीले धेरै क्षति भएको स्थलमा नेपाल प्रहरी र नेपाली सेनाले जलेका घरहरूको संरचना पन्छ्याउने र मरेका पशु पक्षीलाई व्यवस्थापन गर्ने कार्यमा जुटेका छन् ।

बस्तीमा महामारी फैलिन नदिन समयमै पशुपक्षीलाई व्यवस्थापनमा ध्यान दिइएको इस्मा गाउँपालिकाका अध्यक्ष भगतसिंह खड्काले बताउनुभयो । आगलागी प्रभावित नागरिकहरूको स्वास्थ्य परीक्षणका लागी स्वास्थ्यकर्मी खटिएका छन् । 

घरगोठ जलेपछि स्थानीय खुला आकाशमुनि बस्न बाध्य बनेका नागरिकको लागि गाउँपालिकाले तत्कालका लागि आवश्यक पर्ने सामाग्रीको जोहो गरेको छ । आगलागी प्रभावित क्षेत्रमा खानेपानी विद्युतको सम्पर्क टुटेको छ ।

त्यसको पुनः निर्माणका निम्ती गाउँपालिकाका खानेपानी र विद्युतका कर्मचारी परिचालन गरिएको छ । आगलागीबाट भएको क्षतिको थप विवरण जिल्ला विपद् व्यवस्थापन समिति, सुरक्षा निकाय र स्थानीय जनप्रतिनिधिले सङ्कलन गरिरहेका छन् । 

स्थानीय सरकारले आगलागी घटनास्थलमा राहतको व्यवस्था सुरु गरिरहेका छन् । पहिलो चरणमा तत्काल आवश्यक पर्ने खाद्यान्न लगायतका कार्यहरूमा पालिकाले वितरण गर्न शुरु गरेको छ ।

त्यस्तै विभिन्न संघ संस्थाले प्रभावित क्षेत्रमा पुगेर राहत सामाग्री पुर्‍याउने काम गरेका छन् । आगलागी स्थलमा राहात लिएर जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्री, इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्का, उपाध्यक्ष पार्वती कुँवर, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मासहितका सुरक्षा निकाय र उद्योग वाणिज्य संघ गुल्मीका टिम पुग्नुभएको थियो ।

गाउँपालिकाको कार्यपालिका बैठकले विस्थापित परिवारको सहयोगका लागि तत्काल राहत र उद्धारका निम्ती जुटेर जनप्रतिनिधिहरूले एक महिनाको पारिश्रमिक सहयोग गर्ने निर्णय गरेका छन् । 

त्यस्तै कर्मचारीहरूले पनि एक महिनाको पारिश्रमिकको ५ प्रतिशत रकम सहयोग गर्ने निर्णय गरेका छन् । गाउँपालिकाले विपदमा सबैलाई सहयोगको अपिल गर्दै एकद्धार प्रणाली मार्फत राहत कोष जम्मा गरेर सहयोग गर्ने निर्णय गरेको छ । 

पीडितलाई आधारभूत आवश्यकताका आधारमा राहात दिलाउने काम भइरहेको जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले बताउनुभयो । जङ्गलसँगै बस्ती पनि आगोले सखाप बनेपछि हरियोसँगै सुकेका पनि सबै घाँस नष्ट हुँदा बाँचेका पशुचौपायलाई बचाउन समस्या छ । 

आगलागी प्रभावितहरूको सहयोगार्थ जिन्सी सामाग्री भन्दा पनि नगद रकम जम्मा गरिदिन गाउँपालिकाले आग्रह गरेको छ । विस्थापित परिवारको घर निर्माणका निम्त रकम आवश्यक पर्ने भएकाले नगद रकम सङ्कलन गरिदिन पालिकाको आग्रह छ । 

क्षति भएका प्रभावित क्षेत्रमा सबैको समन्वय मार्फत एकद्वारा प्रणाली मार्फत राहत वितरणको लागि टोली स्थलगत खटिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताउनुभयो । उहाँले राहत उद्धारको लागि कुनैपनि कमी नरहने गरि काम अगाडि बढाइएको बताउनुभयो । 

   गुल्मीमा शनिबार मात्रै इस्मासँगै १३ ठाउँमा आगलागी भएको थियो । आगलागीमा ४१ वटा घर, ४८ वटा बंगालो, ८३ वटा पशुचौपाया जलेर नष्ट भएका थिए । 

९ वटा पशु घाइते भएका छन् । १ ट्याक्टर, २ कुटानी पिसानी मिल, १ मन्दिर, २ किराना पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button