तपाईँ सुन्दै हुनुहुन्छः

झ्याङगाउँका बासिन्दा लसुनबाटै आत्मनिर्भर

रुकुम पश्चिम । रुकुम पश्चिमको सदरमुकाम खलङ्गाबाट केही टाढाको दूरीमा छ मुसीकोट नगरपालिका–१० को झ्याङगाउँ । सडक सञ्जालबाट यो गाउँ अझै जोडिन सकेको छैन । यहाँका स्थानीय सडकको पर्खाइमा छन् ।

गाउँमै सडक नपुगे पनि केही तल खोलामा भने सडक पुगेको छ । अन्य समयमा सडकको त्यति धेरै महत्व नभए पनि जब गाउँमा उत्पादन भएको कृषिजन्य वस्तु बजार पुर्‍याउने समय आउँछ त्यो बेला भने किसानलाई सडक आवश्यकता महसुस धेरै हुने गरेको छ ।
सडकको समस्या भए पनि गाउँमा उत्पादन भएको कृषिजन्य बस्तु बिक्री गर्न भने बजारको समस्या छैन । यो गाउँमा अन्य कृषिजन्य वस्तुभन्दा पनि लसुन खेती राम्रो उत्पादन हुने गरेको छ । झ्याङ गाउँमा पछिल्लो केही वर्षयता लसुन खेतीतर्फ किसानको आकर्षण बढेको छ । सिङ्गो झ्याङ गाउँका बासिन्दाले लसुन खेती गरिरहेका छन् । बाइस परिवार रहेको यो गाउँमा सबैले लसुन खेती गरिरहेका छन् । लसुन खेतीले यहाँका स्थानीयको आर्थिक अवस्थामा समेत सुधार ल्याएको छ ।

गाउँमा पहिलो पटक २०६२/६३ सालदेखि लसुन खेती सुरु गर्नुभएका स्थानीय ७१ वर्षीय झुपलाल खड्काले लसुन खेतीबाट पर्याप्त आम्दानी हुने गरेको बताउनुभयो । “गाउँमा पहिलो पटक लसुन खेती गर्ने कृषक म नै हुँ, पछिल्लो समय लसुन राम्रो उत्पादन हुने र आम्दानी पनि राम्रै हुने भएकाले गाउँका सबै किसान लसुन खेतीमा लाग्नुभएको छ,” खड्काले भन्नुभयो । गहुँबाट भन्दा लसुनबाट राम्रो आम्दानी हुने भएकाले लसुन खेतीलाई जोड दिएको उहाँ बताउनुहुन्छ । “गहुँबाट ६ महिनासम्म राम्रोसँग खान नपुग्ने अवस्था हुन्थ्यो, अहिले लसुनबाट वार्षिक रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म कमाई हुन्छ, अन्य घरखर्च पनि व्यवस्थापन गर्न सहज भएको छ ।”

गत वर्ष १४ क्विन्टल लसुन बिक्रीबाट रु एक लाख १० हजार आम्दानी भएको खड्काले बताउनुभयो । लसुनबाट मनग्य आम्दानी हुने भएकाले गहुँ लगाएको बारीमा आगामी वर्षदेखि लसुन खेती गर्ने सोच उहाँको छ ।

खड्काहरूको बसोबास रहेको यो गाउँमा पछिल्लो समय लसुन खेतीप्रतिको आकर्षण बढ्दै गएको छ । उत्पादन र आम्दानी दुवै राम्रो पाउने भएपछि लसुन खेतीमा आकर्षण बढ्दै गएको स्थानीय समेत रहनुभएका मालिका मावि चुनका शिक्षक गोपाल खड्काले बताउनुभयो । उहाँ पनि शिक्षक पेसा सँगसँगै साँझ बिहानको समयम लसुन खेती गर्दै आउनुभएको छ । शिक्षण पेसामा २५ वर्ष खर्चिनुभएका खड्का कृषि पेसालाई पनि सँगसँगै अँगाल्दै आउनुभएको छ । लसुनबाट मनग्य आम्दानी देखेपछि २०६८ सालदेखि व्यावसायिक लसुन खेती गर्न सुरु गरेको उहाँले बताउनुभयो ।

लसुन खेतीलाई व्यवस्थित गर्न वडाको प्रयास
वडामा लसुन खेतीलाई व्यवस्थित गर्न वडा कार्यालय योजना बनाएर अगाडि बढेको वडाअध्यक्ष धनबहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार किसानले उत्पादन गरेको कृषिजन्य वस्तु मूल्य नपाएर त्यतिकै खेर जाले अवस्था आउन नदिन वडाले उत्पादनसँगै बजार व्यवस्थापनलाई पहिलो प्राथमिकता राखेको छ ।

कृषकलाई प्रोत्साहन गर्न अनुदानमा बीउ वितरण, राम्रो उत्पादन गर्ने किसानलाई सम्मान तथा पुरस्कृत समेत गर्दै आएको छ । वडामा उत्पादन भएको कृषिजन्य बस्तु व्यापारीसँग वडाले समन्वय गरेर सल्यान, दाङ, काठमाडौँसम्म पठाउने गरेको छ ।

झ्याङगाउँमा प्रत्येक कृषकले एक क्विन्टलदेखि माथि लसुन खेती गरिरहेका छन् । झ्याङगाउँमा लसुन खेतीलाई थप व्यवस्थित गर्न आउँदो वर्षदेखि अन्नबाली लगाएका ठाउँमा पनि लसुन खती गर्ने योजना वडाले बनाएको छ । झ्याङगाउँमा पूरै जग्गामा लसुन खेती गर्न करिब दुई सय ५० क्विन्टल बीउ लाग्ने अनुमान गरिएको छ ।

अहिले झ्याङ गाउँबाट वार्षिक दुई सय ५० क्विन्टल लसुन जिल्लाबाहिर जाने गरेको छ । बजार व्यवस्थापनको सहजीकरण वडाले गरिदिएकाले उत्पादन भएको कृषिजन्य वस्तु बिक्री गर्न कुनै समस्या नरहेको वडाध्यक्ष खड्काले बताउनुभयो ।

गाउँ नजिकै सडक पुगे पनि किसानको सहजताका लागि भूगोल अध्ययन गरेर गाउँमै सडक सञ्जाल पुर्‍याउने वडाको योजना छ । वडाका किसानलाई व्यावसायिक रूपमा लसुन खेतीमा आकर्षित गर्न तथा आर्थिक रूपमा वडालाई सम्पन्न बनाउन वडाले २०७५ सालमा पहिलो पटक अनुदानमा ४१ क्विन्टल लसुन वितरण गरेको थियो । त्यसयता वडामा व्यावसायिक रूपमा किसानले लसुन खेती गर्न थालेका छन् ।

झ्याङ गाउँ रहेको वडाका तीन सय ६० किसानले लसुन खेती गर्ने गरेको वडाअध्यक्ष खड्काले जानकारी दिनुभयो । चालू आर्थिक वर्ष २०८०/८१ मा वडाले दुई सय ४५ परिवारलाई २० किलोका दरले ५० प्रतिशत अनुदानमा ४८ क्विन्टल लसुन वितरण गरेको थियो ।

गत वर्ष सो वडाबाट पाँच सय क्विन्टल लसुन जिल्लाबाहिर बिक्रीका लागि पठाइएको थियो । उक्त लसुनबाट वडामा रु ५० लाख भित्रिएको छ । लसुन खेतीको सुरुआत भएको झ्याङगाउँमा रु १० लाख खर्चेर गाउँको बीच भागमा लसुनको प्रतिमा सहितको ‘लसुन उद्यान’ निर्माण गरिएको वडाअध्यक्ष खड्काले बताउनुभयो । गाउँमा लसुन उत्पादन भएर जिल्लाबाहिर जाने भएपछि जिल्ला बाहिरबाट बीउको माग बढेको छ । चालू आर्थिक वर्षमा वडालाई लसुन पकेट क्षेत्र घोषणा गरिएको छ ।

प्राङ्गारिक मल प्रयोग गरेर अर्ग्यानिक उत्पादन गर्ने र वडालाई अर्ग्यानिक उत्पादनका रुपमा घोषणा गर्ने वडाको लक्ष्य छ । वडामा लसुन खेतीसँगै सुन्तला खेतीको पनि राम्रो सम्भावना रहेकाले वडालाई आर्थिक रुपमा सम्पन्न बनाउन वडामा उत्पादन हुने कृषिजन्य वस्तुलाई पहिलो प्राथमिकतामा राखेर व्यावसायिकीकरणमा जोड दिइएको वडाअध्यक्ष खड्काले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button