तपाईँ सुन्दै हुनुहुन्छः

डोल्पा आगलागी घटना : तीनै बालबालिकाको मृत्यु 

डोल्पा । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सुँ सामुदायिक वनमा आगलागीमा परेका तीनै बालबालिकाको मृत्यु भएको छ ।

गत बिहीबार आगलागी घटनामा परेका तीनै बालबालिकाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी तुलसीप्रसाद दाहालले जानकारी दिनुभयो । आगलागीबाट गम्भीर घाइते दुई जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको उहाँले बताउनुभयो । उपचारको क्रममा १२ वर्षीय विवश बुढा र १३ वर्षीय समन्त बुढाको काठमाडौँमा आज निधन भएको प्रजिअ दाहालले बताउनुभयो । 

आगलागीबाट घाइते १० वर्षीय सुलस बुढाको भने गत शुक्रबार जिल्ला अस्पताल डोल्पामा उपचारको क्रममा मृत्यु भएको हो । गाउँ नजिकैको वनमा गुच्ची च्याउ टिप्न गएका तीनै बालबालिका आगलागीमा परेर गम्भीर घाइते भएका थिए । 

एकै गाउँका तीन बालबालिकाको आगलागीमा परेर मृत्यु भएपछि सिङ्गो गाउनै शोकमा डुबेको त्रिपुरासुन्दरी–४ का वडाध्यक्ष रञ्जित बुढाले बताउनुभयो । त्रिपुरासुन्दरीले घाइते दुई बालबालिकालाई थप उपचारका लागि हेलिकप्टरमा काठमाडौँ पठाएको थियो । उनीहरूको उद्धार गर्ने क्रममा हेलिकप्टर भाडा मात्रै रु १६ लाख ५० हजार खर्च आएको कर्णाली प्रदेशसभा सदस्य वीरबहादुर शाहीले बताउनुभयो । “खर्च बेहोर्नका लागि त्रिपुरासुन्दरी नगरपालिका र कर्णाली प्रदेश सरकारसँग समन्वय भइरहेको छ”, उहाँले भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button