तपाईँ सुन्दै हुनुहुन्छः

उपराष्ट्रपति यावदद्वारा नयाँ वर्षको शुभकामना

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रदेशलाई संविधानसम्मत अधिकार सम्पन्न बनाउन आह्वान गर्नुभएको छ । नयाँ वर्ष २०८१ का अवसरमा शुभकामना दिनुहुँदै उहाँले सङ्घीय प्रणालीलाई थप संस्थागत गर्दै प्रदेशलाई अधिकारसम्पन्न बनाउन सबै एकढिक्का भई अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

उपराष्ट्रपति यादवले संविधानले निर्दिष्ट गरेको समाजवाद उन्मुख आर्थिक–सामाजिक प्रणाली तथा गणतन्त्रात्मक लोकतान्त्रिक सङ्घीयता र समावेशीतालाई सबैले पालना गर्न सक्ने शक्ति र सामथ्र्य नयाँ वर्ष २०८१ ले प्रदान गर्नेमा विश्वास समेत व्यक्त गर्नुभएको छ ।

“नव वर्ष, २०८१ को सुखद उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, सुदीर्घ र उत्तरोत्तर प्रगतिका लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु”, शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले भन्नुभएको छ, “सङ्घ, प्रदेश र स्थानीय तहलाई शक्ति र स्रोतको बाँडफाँटमा केही ढिलाइ भएकाले नयाँ वर्षमा सङ्घीय प्रणालीलाई थप संस्थागत गर्दै प्रदेशलाई संविधान सम्मत अधिकार सम्पन्न बनाउन सबै एक ढिक्का भई अघि बढ्ने विश्वास पनि व्यक्त गर्दछु ।”

उपराष्ट्रपति यादवले देशलाई सबल र समुन्नत मुलुक बनाउन सबैलाई प्रतिबद्ध र कटिबद्ध हुनका लागि आह्वान गर्नुभएको छ । मुलुकमा वर्षौंदेखि अक्षुण्ण रहेको विविधता र एकतालाई सम्बोधन गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमबाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने सङ्कल्प र प्रण लिने अवसरका रुपमा नयाँ वर्षलाई लिन उहाँको सुझाव छ ।

“मुलुकको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्दै जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्व–शासनको अधिकारलाई आत्मसात् गर्दै सङ्घीयतालाई थप सुदृढ र बलियो बनाउन संविधानमा भएका कमीकमजोरीलाई संशोधन गर्दै नयाँ कानुनको आवश्यकता भए वा संविधानको परिमार्जन गर्न पनि सम्बन्धित निकाय किञ्चित विचलित हुन नहुने प्रतिबद्धताका साथ अघि बढन नयाँ वर्षले सबैलाई उत्प्रेरित गर्न सकोस्,” उपराष्ट्रपति यादवले शुभकामना सन्देशमा भन्नुभएको छ ।

शुभकामना सन्देशमा उपराष्ट्रपति यादवले नेपालमा बसोबास गर्ने सबै समुदाय, समाज र भूगोलले आ–आफ्नै मौलिक संस्कृति, परम्परा र रीतिरिवाजअनुसार नव वर्ष मनाउनुले हाम्रो मुलुकको मौलिक विशेषता ‘विविधतामा एकता’ लाई सबल र सुदृढ बनाउनमा पनि सहयोग पुग्ने बताउनुभएको छ ।

विक्रम संवत्को नयाँ वर्ष शुभारम्भलाई कतै ‘सतुवाइन’, ‘सिरुवा पावनी’, ‘जुडशीतल’, ‘विश्वध्वजपातन’ (विस्काः जात्रा), ‘खायु संन्हु’ आदिका रुपमा पनि मनाउनुले एउटै तिथि र पवित्र पर्वभित्र रहेका हाम्रा ऐतिहासिक, सांस्कृतिक र धार्मिकलगायत विविध आयाम र मौलिक पहिचानको महत्वलाई पुष्टि गर्ने उहाँको भनाइ छ ।

“संविधानअनुरुप जनताको प्रतिस्पर्धात्मक सङ्घीय बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, निष्पक्ष र सक्षम न्यायपालिका, कानुनी राज्य, समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माणका लागि प्रतिबद्धता र दृढता व्यक्त गर्ने अवसरका रुपमा पनि नयाँ वर्षलाई लिनुपर्दछ”, उहाँको भनाइ छ ।

यस्तै, शुभकामना सन्देशमार्फत उपराष्ट्रपति यादवले वैदेशिक रोजगारीका लागि निरन्तर रुपमा विभिन्न मुलुकमा विदेशिनुले नेपाली नागरिकले गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा हुन कठिन हुने चिन्ता समेत व्यक्त गर्नुभएको छ । उहाँले विदेश पलायनको समस्या समाधान उन्मुख हुनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button