तपाईँ सुन्दै हुनुहुन्छः

जङ्गलको डढेलो बस्तीमा पस्दा १३ घरगोठ नष्ट

सल्यान । वनमा लागेको डढेलो बस्तीमा पस्दा सल्यानमा १३ घरगोठ पूर्ण रुपमा जलेका छन् । जिल्लाको कपुरकोट गाउँपालिकाका ४ र छत्रेश्वरी गाउँपालिकाका ९ घर जलेर नष्ट भएका हुन ।

बस्तीमा पसेको डढेलोले कपुरकोट गाउँपालिका ६ रैजेखोला बस्तीका ४ र छत्रेश्वरी गाउँपालिका ४ दुदिलेका २ र वडा न ७ सातका ७ घरगोठ जलेर नष्ट भएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार रैचेखोलाका हरि बहादुर बोहरा, वीर बहादुर बोहरा, तिलक बोहराको घर र मोहनलाल बोहराको गोठ पूर्ण रुपमा जलेर नष्ट भएका छन् ।

यस्तै छत्रेश्वरी गाउँपालिका ४ देुदिलेका दल बहादुर विक र कुस बहादुर खत्रीको गोठ जलेर नष्ट भएका छन् । वि.को गोठ र २ वटा परालको टौवा जल्दा ५० हजार बराबर र खत्रीको २५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभयो ।

यस्तै बस्तीमा पसेको आगोले छत्रेश्वरी गाउँपालिका ७ रावत गाउँका भिम बहादुर थापाको घर र गोठ, सुमन रावतको घर, दिली रावतको घर र गोठ, कृष्ण रावत, ज्ञान बहादुर रावत, हरि बहादुर विकको घर र डिल्ली बहादुर रावतको घर र गोठ पूर्ण रुपमा जलेर नष्ट भएको उहाँको भनाई छ । आगलागीबाट छत्रेश्वरी ७ मा मात्र २० लाख बराबरको क्षति भएको छ ।

विभिन्न सामुदायिक तथा राष्ट्रिय वनमा लागेको आगो नियन्त्रण बाहिर हुँदा जङ्गल नजिकै रहेका बस्ती उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिनुभयो । हावाहुरी चल्दा आगो नियन्त्रणमा कठिनाइ भइरहेको उहाँको भनाई छ । बस्तीमा पसेको आगो नियन्त्रणमा लिए पनि जङ्गलको डढेलोलाई भने नियन्त्रणमा लिन नसकिएको प्रहरीको भनाई छ ।

छत्रेश्वरीमा लागेको डढेलो कपुरकोट गाउँपालिका वडा नम्बर ६ को जङ्गलमा आगो प्रवेश गर्दा ६ नम्बर वडाका रैजेखोला, एक पाखे, तारूपरे, खानी लगायतका थुप्रै जङ्गलहरूमा भीषण आगलागी भइरहेको छ कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गा पुनले जानकारी दिनुभयो । आगोले फलफूलको बिरुवा र तरकारी समेत जलेर लाखौँको रकम बराबरको क्षति भएको उहाँको भनाई छ । प्रहरी, उपभोक्ता, समुदायको सक्रियतामा आगो निभाउने प्रयास गरे पनि हावाहुरी चल्दा नियन्त्रण गर्न समस्या भइरहेको उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button