तपाईँ सुन्दै हुनुहुन्छः

‘रमजानले सामाजिक सद्भाव बढाउने काम गरेको छ’

जनकपुरधाम । मुस्लिम समुदायको पवित्र महिनाको रुपमा रहेको रमजानको २८ औँ दिनमा मुस्लिम आयोगले आज जनकपुरधाममा इफ्तार (रोजा खोल्ने ) कार्यक्रम सामूहिक रुपमा गरेको छ ।

विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई आमन्त्रित गरेर आयोजना गरेको कार्यक्रममा मधेश प्रदेशका सभामुख रामचन्द्र मण्डलले मुस्लिम समुदायको पवित्र महिनाको रुपमा रहेको रमजानले आपसी भाइचारा तथा सामाजिक सद्भाव वृद्धि गर्ने गरेको बताउनुभयो ।

मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता कुमारी साहले मुस्लिम समुदायको पवित्र महिनाको रुपमा रहेको रमजान पर्वले सामाजिक सद्भाव, आपसी भाइचारा बढाएर शान्ति तथा मुलुकवासीमा समृद्धि हासिल हुने आशा व्यक्त गर्नुभयो ।

मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहवर अन्सारीले मधेश प्रदेशमा देशकै सबैभन्दा बढी मुस्लिम समुदाय बसोबास गर्ने ठाउँ भएकाले मुस्लिम आयोगले सामूहिक रोजा खोल्ने कार्यक्रम गरेर निक्कै सराहनीय काम गरेको बताउनुभयो ।

अध्यक्षको आसनबाट बोल्दै मुस्लिम आयोगका अध्यक्ष समिम मियाले अन्सारीले मुस्लिम समुदायको सबैभन्दा पवित्र महिनाको रुपमा रहेको रमजानको २८ औँ दिनमा मुस्लिम तथा हिन्दू समुदायका व्यक्तिहरूलाई एक्कै ठाउँमा बोलाएर आयोगले कार्यक्रम गरेर सामाजिक सद्भाव बढाउने काम गरेको बताउनुभयो ।

मुस्लिम आयोगका सचिव चण्डिका प्रसाद घिमिरेले प्रेम, सद्भाव तथा त्यागको महिनाको रुपमा रहेको रमजानले सामाजिक तथा धार्मिक सद्भाव कायम गराउनमा ठूलो मद्दत पुग्ने बताउनुभयो ।

कार्यक्रममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता तथा प्रदेश सभाका सदस्य जैनुल राईन, आयोगका सदस्य अर्षद मिर्जा वेग सहितका वक्ताहरूले रमजानको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button