तपाईँ सुन्दै हुनुहुन्छः

मुख्यमन्त्री महराले आज सपथ लिँदै , सानो आकारको मन्त्रीमण्डल बनाइने

रुपन्देही । लुम्बिनी प्रदेशको नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महराले आइतबार पद तथा गोपनीयताको शपथ लिनुहुने भएको छ।

प्रदेश प्रमुखको कार्यालय बुटवलले आइतबार दिउँसो १ः४५ बजे शपथ गराउने गरी तयारी गरेको छ । नयाँ सत्ता समीकरणसँगै यसअघि नेपाली काँग्रेसका तर्फबाट मुख्यमन्त्री रहनु भएका डिल्लीबहादुर चौधरीले बिहीबार राजीनामा दिनुभएपछि शुक्रबार महरा मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । 

नेकपा माओवादी केन्द्र संसदीय दलका नेता महराले ५ दलका ४७ र १ स्वतन्त्रसहित ४८ जना सदस्यको समर्थनमा मुख्यमन्त्रीको दाबी पेश गर्नु भएपछि प्रदेश प्रमुख शेरचनले संविधानको धारा १६८ को उपचार २ अनुसार महरालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । शपथ ग्रहण तथा मन्त्रिपरिषद् गठनको गृहकार्यस्वरुप महरा शनिबार दिनभरदेखि नै आन्तरिक तथा बाह्य छलफलमा व्यस्त रहनुभएको थियो ।

एमाले प्रमुख सचेतक तुलसी चौधरीका अनुसार मन्त्रालयको सङ्ख्या बाँडफाँटको बारेमा  मोटामोटी सहमति जुटिसकेको र आइतबार सानो आकारको मन्त्रीमण्डल बन्ने बताउनुभयो । उहाँका अनुसार माओवादी केन्द्रले मुख्यमन्त्रीसहित ३ मन्त्रालय, एमालेले सबैभन्दा ठूलो दलको हैसियतले ५ मन्त्रालय, जनता समाजवादी पार्टी जसपाले २ तथा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले पालैपालो नेतृत्व गर्नेगरी एक मन्त्रालय दिने सहमति भएको छ । यसैगरी अन्तिम समयमा समर्थन गर्न आएको नागरिक उन्मुक्ति पार्टीलाई पनि मिलाएर लैजानुपर्ने भएकाले सो विषयमा मुख्यमन्त्रीले नै निर्णय गर्ने चौधरीले बताउनुभयो । एमालेको मन्त्रालय सङ्ख्या भने नघट्ने उहाँको दाबी थियो ।

आइतबारको सपथ ग्रहणमा मुख्यमन्त्रीसहित माओवादी केन्द्र, एमाले तथा अन्य साना दलहरुबाट सहमतिअनुसार एक–एक जना विनाविभागीय मन्त्रीहरू सहभागी हुने र एकसातामै मन्त्रीपरिषद् पूर्ण रुपमा विस्तार गर्ने र सरकारलाई पूर्णता दिएर एक साताभित्र नै विश्वासको मत लिन मुख्यमन्त्रीलाई सुझाव एमालेले दिएको चौधरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button