तपाईँ सुन्दै हुनुहुन्छः

नेपाललाई विश्वशान्तिको केन्द्र बनाउन शीर्ष नेताहरूद्वारा ५ बुँदे सङ्कल्प प्रस्तावमा हस्ताक्षर

रुपन्देही । नेपाललाई विश्व शान्तिको केन्द्र बनाउन सबै दलका शीर्ष नेताहरूले हस्ताक्षर गर्नुभएको छ ।

जीवन विज्ञान प्रतिष्ठानद्वारा शनिबार लुम्बिनीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित सबै दलका शीर्ष नेताहरूले ५ बुँदे लुम्बिनी सङ्कल्प पत्रमा हस्ताक्षर गर्नुभएको हो ।

जीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष देवी शर्माले दर्ता गराउनुभएको सङ्कल्प पत्रमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, उप–प्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनीका प्रदेश प्रमुख अमिक शेरचन, मुख्यमन्त्री जोखबहादुर महरा, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, एमाले महासचिव शङ्कर पोखरेल, सांसद तथा जनमतका महामन्त्री चन्दन सिंह, सांसदहरु वासुदेव घिमिरे र सुरेन्द्र पाण्डे, लुम्बिनीका प्रमुख सचिव राधिका अर्याल, पूर्व मुख्यसचिव राधिका अर्याल, प्रशिक्षक एलपि भानु शर्मा र रमेश नेपालले हस्ताक्षर गर्नुभएको छ ।

सङ्कल्प प्रस्तावमा योगभूमि, ज्ञानभूमि, बुद्धभूमि, तपोभूमि नेपाललाई मैत्रीभाव, समानता र शान्तिको प्रवर्द्धन गरी नागरिकको शान्ति र समृद्धिको आकाङ्क्षा पूरा गर्न जीवनको मूल विज्ञानमा आधारित ध्यान विधिको प्रयोगबाट मानिसको क्षमतालाई प्रकट एवम् परिचालन गर्ने सबै जात, धर्म, लिङ्ग र सम्प्रदायको घेराभन्दा माथि उठेको राष्ट्रको रूपमा रूपान्तरित गर्दै नेपाललाई विश्वशान्तिको केन्द्र (वर्ल्ड पिस सेन्टर)को रूपमा विकास गर्ने सङ्कल्प गरिएको छ ।

त्यसैगरी संवत् २०८१ को प्रवेशसँगै हामी हाम्रो भूमिमा उत्पत्ति भएको ध्यान र योग देशभर प्रवर्द्धन गर्ने सङ्कल्प गर्दै पूर्वीय संस्कृतिको प्रयोग, संवर्द्धन तथा अभिवर्द्धनका लागि शिक्षा, स्वास्थ्य, कृषि, अर्थ, वाणिज्य, सुरक्षा, सार्वजनिक प्रशासन र परराष्ट्र विषय सम्बद्ध उपयुक्त पाठ्यक्रम एवम् तालिमका लागि उपयुक्त जनशक्ति तयार गर्ने सङ्कल्प गरिएको छ ।

तेस्रो सङ्कल्पमा नेपाल राष्ट्रमा रहेको ज्ञान, ध्यान, योग र चिकित्सा पद्धतिलाई विश्वसामु उपलब्ध गराएर समग्र विश्वशान्ति एवम् सहअस्तित्वको सन्देशका लागि वैज्ञानिक पद्धतिको सञ्चार गर्ने र विदेशस्थित नियोग, दूतावास एवम् कूटनीतिक सञ्जालमार्फत विश्वभर फैलाउने सङ्कल्प गरिएको छ ।

त्यसैगरी चौथो सङ्कल्पमा ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्र (पिस टुरिजम सेन्टर)को रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पुर्‍याउने र देशभर ध्यान र योग प्रवर्द्धन गर्न सक्रिय र समर्पित संस्था तथा अभियन्ताहरूसँग सहकार्य गरी सबै सरकारी एवम् पर्यटकीय स्थल तथा कार्यालयहरूमा ध्यान तथा योग पद्धतिको प्रयोगका लागि उपयुक्त व्यवस्था गर्ने सङ्कल्प गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक पुनः संरचनामा सफल भएपछि अब प्रत्येक नागरिकको जीवन रुपान्तरणका लागि अर्को क्रान्ति गर्ने समय आएको आभास भएको बताउनुभएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा शनिबार आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले आध्यात्मिक रुपान्तरणको खाँचो महशुस गरेको बताउनुभयो ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचन, नेकपा एमाले महासचिव शङ्कर पोखरेल, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, लुम्बिनी प्रदेशका प्रमुख सचिव राधिका अर्याल, जीव विज्ञान प्रतिष्ठानका अध्यक्ष देवी शर्मा लगायतले योग तथा जीव विज्ञानका विषयमा आफ्ना धारणा राख्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button