तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा गोल्डकप शुरु हुँदै

बारा । आजबाट सिमरा रङ्गशालामा शुरु हुने जीतपुरसिमरा गोल्डकपको १४ औँ संस्करणको तयारी पुरा भएको छ ।

आयोजक नवजनजागृती युवा क्लबले सिमरामा शुक्रबार साँझ पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको सबै तयारी पुरा भएको जानकारी दिएको हो । प्रतियोगिताको पहिलो खेल त्रिभुवन आर्मी फुटबल क्लब र बीरगञ्ज युनाईटेड क्लब वीरगन्जले प्रतिस्पर्धा गर्नेछ । फ्लड लाइटमा साँझ ६ः३० बजेबाट शुरु हुने प्रतियोगिताको सबै खेल एक्सन स्पोर्टसले प्रत्यक्ष प्रसारण गर्ने आयोजकले जनाएको छ । 

आगामी वैशाख ३ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा डिफेण्डिङ च्याम्पियन चर्च ब्वाईज युनाईटेड, त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब, फ्रेण्ड्स क्लब र मच्छिन्द्र क्लब गरी ‘ए’ डिभिजनका पाँच टिम सहभागी हुनेछन् । सशस्त्र प्रहरीको विभागीय क्लब एपिएफ, मकवानपुर ११ हेटौँडा, वीरगञ्ज युनाईटेड क्लब, बीरगञ्ज, सिराहाको सहलेश युवा क्लब र आयोजक नवजनजागृती युवा क्लब सहित १० टिमको सहभागिता रहने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिनुभयो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको मुख्य सहयोग तथा जगदम्बा स्टिलको मुख्य प्रयोजनमा हुन लागेको प्रतियोगिताको विजेताले १० लाख तथा उपविजेताले ५ लाख रुपैयाँ सहित ट्रफि प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्नेछन् भने सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकले समान २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलका म्यान अफ दि म्याचले १० हजार नगद सहित ट्रफि प्राप्त गर्नेछन् । 

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरूका लागि आरक्षण सिट सहित निःशुल्क प्रवेश तथा विद्यार्थीका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button