तपाईँ सुन्दै हुनुहुन्छः

अन्नपूर्ण क्षेत्रमा भित्रिए तीस हजार पर्यटक

गण्डकी। एक महिनामा ३० हजार एक सय ९९ विदेशी पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार दक्षिण एसियाली मुलुकका १४ हजार छ सय ६८ र अन्य देशका १५ हजार पाँच सय ३१ जना पर्यटकले गत मार्चमा सो क्षेत्रको भ्रमण गरेका हुन् ।

अन्नपूर्ण चक्रीय पदमार्ग विश्वभरका पदयात्री पर्यटकको रोजाइमा रहेकाले चिसो याम समाप्त भएसँगै पर्यटक आगमन बाक्लिएको एक्यापका प्रमुख डा रविन कडरियाले बताउनुभयो । “वैशाखको अन्त्यसम्ममा यस क्षेत्रमा भित्रने पर्यटकको सङ्ख्या अझ बढ्छ”, उहाँले भन्नुभयो, “असोज–कात्तिक र चैत–वैशाख पदयात्रा पर्यटनका लागि उत्तम मानिन्छ ।” यी दुवै याममा अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको उहाँले बताउनुभयो ।

अघिल्लो वर्ष एक सय ७३ देशका एक लाख ९१ हजार पाँच सय ५८ पर्यटक अन्नपूर्ण क्षेत्रमा भित्रिएका थिए ।यो सङ्ख्या हालसम्मकै बढी भएको आयोनजा उहाँले जानकारी दिनुभयो । त्यसअघि सबैभन्दा बढी सन् २०१९ मा एक लाख ८१ हजार पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२१ मा १६ हजार एक सय पाँच पर्यटकले अन्नपूर्ण क्षेत्रको भ्रमण गरेका थिए । सन् २०२२ मा एक लाख २९ हजार सात सय ३३ पर्यटक आएका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button