तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा

कास्की  । यही चैत २५ गतेदेखि वैशाख ५ गतेसम्म हुने १२ औँ संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक विष्णुपादुका क्लबले आज पत्रकार सम्मेलन आयोजना गरी राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष समेत रहनुभएका मूल आयोजक समितिका अध्यक्ष सुविन श्रेष्ठले महोत्सव किसानको चाड भएको उल्लेख गर्नुहुँदै सबै मिली महोत्सव सफल बनाउनुपर्ने बताउनुभयो  । उहाँले महोत्सवलाई कृषि, पर्यटन तथा व्यापार मेलाका रुपमा विकास गर्न खोजिएको स्पष्ट पार्नुभयो ।

सो अवसरमा मूल आयोजक समितिका महासचिव वसन्तकुमार श्रेष्ठले विशुद्ध हेमजावासीको महोत्सवका रुपमा राष्ट्रिय हेमजा आलु महोत्सवलाई चिनाउँदै त्यससँग हेमजाको पहिचान जोडिएको बताउनुभयो ।  उहाँले यस वर्षको महोत्सवमार्फत बचत हुन आउने रकमबाट क्लबको बहुउद्देश्यीय भवन निर्माणको लक्ष्य राखिएको स्पष्ट पार्दै हेमजालाई देश विदेशमा चिनाउन आलु महोत्सवको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।  

पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाँले महोत्सवमा कृषिका गतिविधिलाई प्राथमिकता दिन सुझाव दिनुहुँदै आलु महोत्सव किसानको महोत्सव हुनुपर्ने बताउनुभयो  । उहाँले  उन्नत बिउ लगाएमा नियमित अवस्थामा भन्दा १५ देखि २० प्रतिशतसम्म बढी उत्पादन लिन सकिने स्पष्ट पार्दै आलुको उत्पादनमा ध्यान दिनुपर्ने बताउनुभयो ।

महोत्सवमा कुल १ सय ४० स्टल मध्ये ४० स्टल कृषि उपजको प्रवद्र्धनका लागि छुट्टाइएको आयोजकले जनाएको छ।  महोत्सवमा प्रतिकेजी रु ३८ देखि ४० का बीचमा आलुको कारोबार हुने र महोत्सव प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको पनि आयोजकले जनाएको छ ।

पोखरा महानगरपालिका–२५ को हेमजामा कुल १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आइएको छ । यहाँ ५ सय ४० घरपरिवारका किसान व्यावसायिक रुपमा आलुखेतीमा आबद्ध छन् । 

यस वर्षको महोत्सव अन्तर्गत हेमजामा करिब ८० टन आलुको कारोबार हुने आयोजकको अपेक्षा गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button