तपाईँ सुन्दै हुनुहुन्छः

गैँडा स्थानान्तरण गर्न प्राविधिकसहितको टोली नवलपुरमा 

नवलपुर  । गैँडा स्थानान्तरण गर्न प्राविधिकसहित चितवन राष्ट्रिय निकुञ्जको टोली आज पश्चिम सेक्टर आइपुगेको छ । 

चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरको नेतृत्वमा ६० जनाको टोली यहाँ आइपुगेको हो । जसमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ ‘इकोलोजिस्ट’ श्याम शाहको नेतृत्वमा प्राविधिक टोली रहेको छ । 

नवलपुरको लोकाहा, दिव्यपुरी लगायतको क्षेत्रमा बस्ती पसेर दुख दिएका र  पश्चिम सेक्टरको कोर क्षेत्रबाट गरि पहिलो चरणमा ६ वटा गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गर्न लागिएको हो । 

आज कावासोतीमा कार्यक्रम गरि नवलपुरका सरोकारवालालाई निकुञ्जले स्थानान्तरणका विषयमा जानकारी समेत गराएको छ  । 

गैँडालाई भोलिदेखि निकुञ्जको पूर्वी सेक्टरमा स्थानान्तरण गर्ने कार्य सुरु गरिने संरक्षण अधिकृत अविनाश थापा मगरले जानकारी दिनुभयो । देवचुली नगरपालिकाको महाराजा सामुदायिक वन क्षेत्रबाट टोलीले स्थानान्तरणको काम सुरु गर्ने उहाँले बताउनुभयो । गैँडा स्थानान्तरण कार्यमा निकुञ्जको हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको सेनालगायतको जनशक्ति प्रयोग गरिने उहाँले बताउनुभयो ।  

पहिलो चरण अन्तरगत नवलपुरको पश्चिम सेक्टर, सामुदायिक वन र राष्ट्रिय वनमा रहेका ६ वटा वयस्क भाले र पोथी गैँडा स्थानान्तरण गरिने निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत गणेश तिवारीले जानकारी दिनुभयो । आठ वर्षदेखि माथि र २० वर्षभन्दा मुनिका गैँडालाई स्थानान्तरण गरिने तिवारीले जानकारी दिनुभयो ।

एकै स्थानमा धेरै गैँडा हुँदा बासस्थान व्यवस्थापनमा समस्या आउने र वृद्धि दरमा कमी आउने भएकाले स्थानान्तरण गर्न लागिएको उहाँले बताउनुभयो । 

नवलपुरबाट गैँडा स्थानान्तरण गर्न लाग्दा यहाँका पर्यटन व्यवसायीले भने विरोध जनाएका छन् ।

होटेल व्यवसाय नवलपुरका अध्यक्ष सन्तोष रानाले नवलपुर पर्यापर्यटन बजारको लागि गैँडा स्थानान्तरण गरिनु दुःखद रहेको बताउनुभएको छ । 

उहाँले वन्यजन्तु स्थानान्तरण गर्नु भन्दा निकुञ्ज तथा सामुदायिक बन भित्र घासे मैदान ,आहाल तथा प्रशस्त पानीको व्यवस्थापन गरेर मानव बस्तीमा वन्यजन्तुको आवागमन कम गर्ने वातावरण मिलाउनुपर्ने बताउनुभएको छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button