तपाईँ सुन्दै हुनुहुन्छः

रेडियो नेपालका दुई जना कर्मचारी सेवा निवृत्त 

काठमाडौँ I रेडियो नेपालले  रेडियो नेपालमा कार्यरत रही सेवा निवृत्त हुनु भएका  मुख्य प्राविधिक अधिकृत रोशन थापा र वरिष्ठ प्राविधिक अधिकृत भरत प्रसाद घिमिरेलाई आज सम्मानपत्र सहित बिदाइ गरेको छ । 

सेवा निवृत्त हुनुभएका थापाले रेडियो नेपालमा ३५ वर्ष र घिमिरे ले ३३ वर्ष सेवा पुर्‍याउनु भएको हो । 

सेवा निवृत्त थापा र घिमिरेको सम्मानमा आज रेडियो नेपालमा आयोजित सम्मान तथा बिदाइ समारोहमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर केसीले सेवा निवृत्त कर्मचारीहरूको अनुभवलाई अनुसरण गर्दै हामी सबै मिलेर संस्थालाई सबल बनाउनु जरुरी रहेको बताउनुभयो । 

कार्यक्रममा रेडियो नेपालका नायव कार्यकारी निर्देशक खगेन्द्र खत्रीले सेवा निवृत्तहरुको सफल जीवनको शुभकामना दिनुहुँदै संस्थाको हितमा अगाडी बढ्नु कार्यरत र पुर्वकर्मचारीको शुभेच्छा जरुरी भएको बताउनुभयो ।

अर्का नायव कार्यकारी निर्देशक कृष्णचन्द्र पौडेलले आफ्नो जीवनको उर्वर समय संस्थाको हितमा प्रयोग गरेका सेवा निवृत्त कर्मचारीका राम्रा कुरालाई अनुसरण गर्दै अगाडी बढ्नुपर्ने बताउनुभयो ।

यस्तै कार्यक्रममा रेडियो नेपालका उपनिर्देशक पुरुषोत्तम मानन्धरले सेवा निवृत्त मुख्य प्राविधिक अधिकृत रोशन थापा र वरिष्ठ प्राविधिक अधिकृत भरत प्रसाद घिमिरेले रेडियोमा रहँदा पुर्‍याउनुभएको योगदान सदैव स्मरणीय रहने बताउनुभयो । 

त्यस अवसरमा सेवा निवृत्त हुनु भएका वरिष्ठ प्राविधिक अधिकृत भरत प्रसाद घिमिरेले आफू जागिरका हिसाबले संस्थाबाट अवकाश पाए पनि संस्थाको हक र उन्नतिका लागि सेवा निवृत्त रहँदा पनि आवश्यकताका बखत लागिरहने बताउनुभयो ।

यसअघि रेडियो नेपाल कर्मचारी युनियनका केन्द्रीय अध्यक्ष समेत रहनुभएका सेवा निवृत्त हुनुभएका भरत प्रसाद  घिमिरेको सम्मान तथा बिदाइमा  रेडियो नेपाल  कर्मचारी युनियनले पनि एक कार्यक्रमको आयोजना गरेको थियो । 

त्यस अवसरमा युनियनका नेताहरूले उहाँको सेवा निवृत्त जीवन अझ सक्रिय र सुखद बनोस् भन्ने कामनासहित बिदाइ तथा शुभकामना दिनुभएको थियो। 

सोही अवसरमा सार्वजनिक संस्था कर्मचारी सङ्गठनका अध्यक्ष इन्दु आचार्यले युनियनका अध्यक्ष भरत प्रसाद घिमिरेलाई प्रमाण पत्रसहित सम्मान गर्नुभयो ।

त्यस्तै, युनियनले रेडियो नेपाल  कर्मचारी युनियनका  वरिष्ठ उपाध्यक्ष  महेश प्रसाद घिमिरेलाई अध्यक्षको सम्पूर्ण  जिम्मेवारी  सम्हाल्ने गरी कार्यवाहक अध्यक्षको जिम्मेवारी समेत हस्तान्तरण गरेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button