तपाईँ सुन्दै हुनुहुन्छः

संघीय संसदअन्तर्गतका आज आठ वटा संसदीय समितिका बैठक बस्दै

काठमाडौं।संघीय संसदअन्तर्गतका आठ वटा संसदीय समितिका बैठकहरु आज बस्दैछन् । प्रतिनिधि सभाअन्तर्गत पाँच र राष्ट्रिय सभाअन्तर्गत तीनवटा समितिका बैठकहरु बस्न लागेका हुन् ।

केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि दफावार छलफलका लागि कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बोलाइएको छ । नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबारे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा छलफल हुँदैछ ।

महिला तथा सामाजिक मामिला समितिको बैठक पनि आज बस्दैछ । बैठकमा अन्तरजातीय, अन्तरभाषिक, अन्तरधार्मिक, अन्तरसांस्कृतिक सहिष्णुता पर्वद्धनमा आयोगले खेलेको भूमिका सम्बन्धमा छलफलको कार्यसूची रहेको छ ।

यस्तै अर्थ र सार्वजनिक लेखा समितिको बैठक पनि आज बोलाइएको छ । राष्ट्रिय सभाअन्तर्गत दिगो विकास तथा सुशासन समितिको बैठकमा सुशासनका लागि विधिको शासन र संसदको भूमिका विषयमा अन्तर्क्रियात्मक छलफल हुँदैछ ।

विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ । बैठकमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक, २०७९ मा सैद्धान्तिक छलफल गर्ने कार्यसूची रहेको छ ।

भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको पहिचान, आवास र भुमिमाथिको पहुँच र अधिकारको सुनिश्चितता, जोखिमयुक्त स्थानमा बसोबास गर्दै आएकालाई स्थानान्तरण लगायतका विषयमा राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button