तपाईँ सुन्दै हुनुहुन्छः

सुनथराली विमानस्थलको उद्घाटन, जहाज हेर्न बच्चादेखि वृद्धसम्मको भीड (फोटोफिचर) 

जुम्ला । कालिकोटको नरहरीनाथ गाउँपालिका वडा नंं. १ कोटबाडा स्थित सुनथराली विमानस्थल निर्माण सुरु भएको ३८ वर्षपछि उद्घाटन भएको छ । 

२०४२ सालदेखि तत्कालीन जिल्ला विकास समितिको १ लाख लगानीबाट निर्माण सुरु भएको ३८ वर्षपछि आज नरहरीनाथ गाउँपालिकाको आयोजनामा विमानस्थलको औपचारिक उद्घाटन भएको हो । 

आइतबार दोस्रो पटक परीक्षण उडान सफल भएपछि आज सुनथराली विमानस्थलको भव्य उद्घाटन गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले विमानस्थलको उद्घाटन गर्नुभयो ।  

रक्षामन्त्री खड्कासँगै पर्यटन मन्त्री सुदन किराँती, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्मा, तत्कालीन मुख्यमन्त्री द्वय जीवन बहादुर शाही र महेन्द्र बहादुर शाही, कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने लगायतका उच्च पदस्थ व्यक्ति सुनथराली पुगेर विमानस्थलको भव्य उद्घाटन भएको छ । 

निर्माण सम्पन्न भएको दुई वर्ष बिते पनि औपचारिक उद्घाटन हुन सकेको थिएन् । पहिलो परीक्षण उडान २०७३ माघ २९ मा कर्णालीका तत्कालीन मुख्यमन्त्री जीवन बहादुर शाहीले गर्नुभएको थियो । 

२०५८ फागुन ११ गते नेपाली सेनाले विमानस्थल निर्माणको काम गरिरहेका नहरीनाथ-१ का टेक बहादुर विष्टसहित ३६ जना कामदारको निर्मम हत्या गरी एउटै चिहान बनाएको थियो । द्वन्द्वका कारण निर्माण प्रभावित भएपछि शान्ति सम्झौतापछि मात्रै विमानस्थल निर्माणले गति लिएको थियो । कोटबाडाका ८ जनासहित धादिङका २६ जना गरी ३६ जनाको एकै चिहान भएको थियो । 

२१ वर्षीय छोरा टेक बहादुर गुमाएकी आमा मृगा विष्टले सुनथरालीमा दोस्रो पटक जहाज देखेपछि मक्ख हुनुभएको छ । चिहानमाथिको विमानस्थलमा चिल गाडी कुरिरहेका थियौँ । उहाँले भन्नुभयो, “ढिलै भएपनि मन्त्रीसहित जहाज आयो । खुसी छौँ । तर जहाज चढ्न पाईन्या होकी नाई पत्तो छैन । तर सुनथराली विमानस्थलमा नियमित जहाज उड्नु भनेको कालिकोटबासीले सेवा पाउनु मात्र होइन, मृतक ३६ जनाको आत्मले शान्ति पाउनु पनि हो । तर नियमित जहाज उड्ने टुङ्गो नाई ?”

जहाज हेर्नका लागि कालिकोटका गाउँ गाउँबाट हजारौँको सङ्ख्यामा स्थानीय नागरिक सुनथराली विमानस्थलमा पुगेको नहरीनाथ गाउँपालिकाका प्रवक्ता प्रदीप बोहोराले जानकारी दिनुभयो । 

साना बालबालिका देखि जेष्ठ नागरिकसम्म जहाज हेर्नैकै लागि विमानस्थल पुगेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button