तपाईँ सुन्दै हुनुहुन्छः

एमालेको महोत्तरी अध्यक्षमा यादव निर्वाचित

बर्दिबास । नेकपा एमालेको महोत्तरी जिल्ला अध्यक्षमा बलराम यादव निर्वाचित हुनुभएको छ । 

एमाले महोत्तरीको छैटौँ जिल्ला अधिवेशनबाट कार्यसमितिमा अध्यक्ष यादव प्यानलसहित विजयी हुनुभएको हो । 

अध्यक्षमा एकभन्दा बढी आकाङ्क्षी भएपछि निर्वाचन प्रक्रियामार्फत नेतृत्व चयनका लागि मतदान भएको एमालेका युवा नेता शङ्कर महतोले जानकारी दिनुभयो । 

आज बिहान सार्वजनिक गरिएको मत परिणाम अनुसार बलराम यादव नेतृत्वको प्यानल विजयी भएको निर्वाचन अधिकृत उद्धव बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अध्यक्षमा यादव २५९ मत ल्याई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी शिवचन्द्र सिंहले १५५ मत ल्याउनुभयो । 

यादव प्यानलबाटै उपाध्यक्षमा अम्बिका प्रसाद गौतम, सचिवमा शम्भु ठाकुर, उपसचिवमा फेकन राम चमार र लेखा समिति अध्यक्ष सूर्य प्रसाद सिंह कुश्वाहा विजय हुनुभएको निर्वाचन अधिकृत क्षेत्रीले बताउनुभयो ।

महोत्तरीमा एमालेको १३ वर्ष पश्चात् अधिवेशन भएको हो । ४३७ मतदाता रहेको नेकपा एमाले महोत्तरीको अधिवेशनमा ४२९ मतदान गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button